
तानसेन–तम्घास सडकखण्ड अन्तर्गत पाल्पाको सिरूबारीमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का १ जना घाइते छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा तानसेन नगरपालिका–१४ कुसेनी घर भई हाल उच्च अदालत बुटवलमा खरिदार पदमा कार्यरत हरिप्रसाद ज्ञवाली हुन् ।
घाइते हुनेमा उनका आफन्त गुल्मी घर भई भैरहवा निवासी ४३ वर्षीय अनिल ज्ञवाली रहेका छन् ।
बुटवलबाट रिडीतर्फ जाँदै गरेको लु१९प ८१७५ नम्बरको मोटरसाइकल तानसेन नगरपालिका–१४ सिरूबारीमा शनिवार बिहान करीब ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा हरिप्रसाद ज्ञवालीको बाटैमा मृत्युु भएको बताइएको छ । अर्का घाइते लुम्बिनी मेडिकल कलेजमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
दुवै जना आफन्तको मृत्युमा भेटी लिएर जाँदै गरेका मृतकका आफन्त दीपक आचार्यले बताए । मृतकका आमा, पत्नी र ३ छोरा छन् ।
दुर्घटनाका प्रत्यक्षदर्शी सडक मजदुर शान्ति सिंजाली मगरका अनुसार विपरीत दिशाबाट अर्काे जीप आइरहेको र साँघुरो सडकका मोटरसाइकल एक्कासी पल्टिँदा दुर्घटना भएको थियो । दुवै जनाले हेल्मेट लगाएको भए पनि चालकको टाउकोका गहिरो चोट लागेको थियो । कुसेनीबाटै बुटवलतर्फ मोटरसाइकलमा जाँदै गरेका श्रीकृष्ण ज्ञवाली र हरि ज्ञवालीले दुर्घटनापछि घाइतेको उद्दार गरी अर्काे गाडीमा अस्पतालतर्फ लगेका थिए ।
घटनाको अनुसन्धान भइरहेको पाल्पाका डीएसपी मनोज गिरिले जानकारी दिए । घटनापछि हार्थाेक प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार दीपकराज गिरिको टोली घटनास्थल पुगेको थियो ।