
बेलायतले राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य तथा नैतिक सङ्कट’ रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ ।
पछिल्लो निर्णय जारी गर्दै प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमस ‘निकै फरक’ हुनसक्ने बताए । उनले महामारी नियन्त्रणका लागि उठाइएको कदमका कारण उक्त पर्वका अवसरमा परिवारका सदस्यहरूबीच भेट हुनसक्ने वातावरण निर्माण हुनेमा विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले रेष्टुरेन्ट, व्यायामशाला र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने बताए । तर यस अघिको लकडाउनमा बन्द गरिएका विद्यालय र विश्वविद्यालयलाई यस पटक खुला रहन सक्नेगरी निर्णय सार्वजनिक गरिएको छ ।
पछिल्लो निर्णय अनुसार निर्माणस्थल र उद्योगहरू खुला रहन सक्नेछन्, छुट्टिएर बसेका बाबुआमा छन् भने छोराछोरी बाबु वा आमाकहाँ जान पाउनेछन् । जोखिममा रहेका मानिसहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ ।