
गुल्मी, २९ वैशाख- स्थानीय तह निर्वाचनको लागी गुल्मीमा नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेल खलबलिएको छ । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा बिभिन्न पदहरु बाडेर चुनावी मैदानमा उत्रिने सहमती जनाएको केहि दिनमै सहमती अन्योलमा परेको छ । आउँदो जेठ ३१ मा हुने निर्वाचनको लागी चुनावी तालमेल संकटमा पर्दा नेता माथीको बिश्वसनियता माथी प्रश्न चिन्ह उठेको छ ।
गत बैशाख ८ गते एक बिज्ञप्ती जारी गर्दै तालमेल गरेर चुनावाम भाग लिने सहमती भएको थियो । एमाले र माओवादी केन्द्र बिच भएको सहमती अनुसार माओवादी केन्द्रलाई ३ गाउँपालिका प्रमुख, ६ वटा गाउँपालिका उपप्रमुख र २४ वटा वडा अध्यक्ष सहित चुनावी तालमेल भएको थियो ।
एमाले कार्यकर्ताबाट तालमेलको चर्को बिरोध भएपछि चुनावी तालमेल अन्योलमा परेको हो । कार्यकर्ताको चर्को बिरोध र मतपत्र पनि तलमाथी भएकोले धेरै मत बदर हुने सम्भावना आएको भन्दै तालमेल अन्योलमा परेको एमालेका एक नेताले खुलासा गरे ।
जिल्लामा रहेका कुल ९३ वडा मध्ये बाँकी वडामा एमालेले अध्यक्ष पाउने सहमती भएको थियो । दुई पार्टीको तालमेल अनुसार २ वटा नगरपालिका र ७ गाउँपालिकामा एमालेको तर्फबाट प्रमुख पाउने सहमती भएको थियो । सहमती अनुसार माओवादी केन्द्रलाई धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र चन्द्रकोट गाउँपालिका पाउने सहमती भएको थियो ।
सहमतती भएपनि एमालेले माओवादीलाई दिएका ति गाउँपालिकाहरुमा पनि एमालेले पनि उम्मेदवार उठाएपछी सहमती अन्योलमा परेको छ । माओवादी केन्द्रलाई दिएका गाउँपालिका मध्ये धुर्कोट गाउँपालिकामा एमालेको तर्फबाट कृष्ण घिमिरे अध्यक्षमा उम्मेदवार बनेका छन् भने मालिका गाउँपालिकाबाट रितबहादुर थापाको उम्मेदवारी दिने एमालले निर्णय गरेको छ ।
केन्द्रलाई दिएको चन्द्रकोट गाउँपालिकामा एमालेको तर्फबाट मिमलाल श्रेष्ठलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ । माओवादी केन्द्रलाई दिएका गाउँपालिकामा एमालेले उम्मेदवार उठाएको चर्चा पाएपछी माओवादी केन्द्र एमालेको निर्णयबाट अन्योलमा परेको एक नेताले बताए ।
माओवादी केन्द्रको अन्तिम समय सम्म पनि एमालेसँग नै तालमेल गरेर अगाडी बढने सोच रहेको उनिहरुको भनाई छ । एमालले भने कार्यकर्ताको दवाव र मतपत्रलाई मुख्य दोष दिएको छ । एमालले गाउँपालिकाहरुमा स्थानीय कार्यकर्ता र नेताहरुको सहमती भए आबश्यकता अनुसार तालमेल गर्न सकिने जनाएका छ ।
चुनावी तालमेल तोडिएको दुबै पार्टीका नेताबाट आधिकारीक धारणा बाहिर नआएपनि एमालले उम्मेवार बनाइ सकेकाले तालमेल भाँडिएको बुझ्न सकिन्छ ।
गुल्मीमा रहेका २ नगरपालिका मध्ये रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसको बाहुल्यता रहेको छ भने मुसिकोट नगरपालिकाम नेकपा एमालेको बाहुल्यता रहेको छ । एकल चुनाव लडे गुल्मीमा नेपाली काँग्रेस र एमाले मुख्य प्रतिपर्धिका रुपमा आउँछन् भने तालमेल गरेर अगाडी वढे माओवादी केन्द्र निर्णयक अबस्थामा रहेको दलका नेताहरुको आँकलन रहेको छ ।
कुनै ठाउँ एमाले बलियो र कुनै ठाउँमा काँग्रेस बलियो रहेकोले त्यस परिणामलाई आफ्नो कोल्टामा ल्याउनको निम्ती पनि चुनावी तालमेल गर्ने सोच बनाएका थिए । जिल्लामा माओवादी केन्द्र खासै बलियो अबस्थामा नरहेकोले पनि जित्नको लागी कुनै पार्टीसंग तालमेल गर्नु पर्ने अबस्थामा रहेकोले पनि माओवादी केन्द्र कुनै पार्टी संग तालमेल गरेर अगाडी बढनुको अबस्था देखिन्छ ।
जिल्लामा रहेका तीन निर्वाचन क्षेत्र मध्ये गत २०७० सालको संविधानसभा निर्वाचनमा एमालेले एक सिट र कांग्रेसले दुई सिट जितेको थियो । कुल मतमा भने थोरै मतले एमाले अगाडी देखिएको थिए । २०६४ सालको निर्वाचनमा माओवादी केन्द्र पहिलो, एमाले दोस्रो स्थानमा रहेको थियो ।
निर्वाचनमा माओवादीले २ सिटमा विजय पाएको थियो भने एक सिटमा एमाले विजयी भएको थियो । उक्त निर्वाचनमा काँग्रेसले एक सिट पनि जितेको थिएन् ।