
काठमाडौं, २९ वैशाख — एफबीआईका निर्देशक जेम्स कोमेलाई निकाल्दा आफू कुनै पनि अनुसन्धानको दायरामा नरहेको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड दिएका छन् ।

‘देखावटी’मा विश्वास गर्ने कोमेलाई निकाल्न आफू एक्लैले निर्णय लिएको उनले बताए ।
कोमेले अमेरिकी निर्वाचनमा रुसको हस्तक्षेप अनि ट्रम्पका चुनावी अभियन्ता तथा मस्कोबीचको सम्भावित सम्बन्धका विषयमा अनुसन्धानको नेतृत्व गरिरहेका थिए ।
ट्रम्पले यो अनुसन्धान देखावटी भएको बताएका छन् ।
एफबीआई निर्देशकलाई निष्काशन गरेपछि एनबीसी न्युजसँगको पहिलो अन्तर्वार्तामा ट्रम्पले आफू अनुसन्धानमा रहेको नरहेको विषयमा कोमेलाई सोधेको बताए ।
’मैले भनें, सम्भव छ भने मलाई भनिदिनुस्, के म अनुसन्धानको दायरामा छु ? उनले भने, तपाईं अनुसन्धानको दायरामा हुनुहुन्न ।’
‘मलाई थाहा छ म अनुसन्धानको दायरामा छैन,’ ट्रम्पले अन्तर्वार्ताकारलाई भने ।
‘मेरो चुनावी अभियान र रुसका बीच कुनै तालमेल छैन,’ उनले थपे ।
ट्रम्पले हालै ट्वीट गर्दै रुस र ट्रम्पबीचको सम्बन्ध रहेको आरोपलाई 'हावादारी' भनेका थिए ।
बीबीसीबाट