
दशैंलगत्तै कास्की जिल्लाका २ प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना संक्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेले अनिवार्य पीसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ ।
चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीले जोखिम रोक्न कात्तिक २१ गतेदेखि पदयात्रामा आउनेले पीसीआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने निर्णय गरेका हुन् ।
मंगलवार माछापुुच्छ्रे गाउँपालिका–७, ८ र ९ का वडाध्यक्षहरू, पर्यटन व्यवस्थापन समिति अस्ट्रेलियन क्याम्प, मर्दी ट्रेक पर्यटन व्यवस्थापन समिति, माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिलगायत सरोकार भएकाहरूको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने र जोखिम न्यूनीकरण गर्र्ने निर्णय गरिएको माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिका सचिव कुलप्रसाद अधिकारीले बताए ।
उनले भने, ‘अन्यत्रका पदयात्रा बन्द भएपछि दशैंपछि मर्दी र माछापुच्छ«ेमा पदयात्री उल्लेख्य बढेका छन्, संक्रमण बढी भएका जिल्लाबाट समेत मानिसहरू आएपछि जोखिम कम गर्न पीसीआर रिपोर्ट अनिवार्य गरेका हौं ।’
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदयात्रा त्यहाँका व्यवसायीले बन्द गरेपछि मर्दी र माछापुच्छ्रेमा आन्तरिक पर्यटकको भीड बढेको हो ।
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडीले भीडभाड बढेपछि अत्यधिक जनदवाब आएकाले स्थानीय, पदयात्री तथा व्यवसायीलाई सुरक्षित राख्ने प्रयास गरिएको बताए । मर्दी पदयात्रामा धम्पुस, घलेल, सिदिङ, कालिमाटी लगायतका बस्तीहरू पर्ने र स्थानीयले असुरक्षित महसूस गरेपछि पीसीआर अनिवार्य गरिएको उनको भनाइ छ ।