
कैलालीमा २ प्रहरीको हत्याकाण्डसँग जोडिएको केराउ (मटर) तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले धनगढीका १ व्यापारीलाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोस्ट जुगेडाका तत्कालीन इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद हत्याकाण्डको अनुसन्धानका क्रममा धनगढीका व्यापारी राजीव गुप्ताको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको हत्या भएको राति जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।