
अमेरिकाको राष्ट्रपति निर्वाचनको मतपरिणाम आइरहँदा दुई उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ ।
कसले चुनाव जित्ला भनी कुनै निश्चित नभइसकेको अवस्थामा राष्ट्रपति डोनल्ड ट्रम्पले अहिले भइरहेको मतगणना रोक्नका लागि सर्वोच्च अदालतको शरण पर्ने बताएका छन् ।
डेमोक्रेटिक पार्टी पनि अदालतमा निवेदन दिने सुर कसिरहेको छ ।
दुवै पक्षले वकिलहरू जम्मा पारिरहँदा कैयौं दिन र हप्तासम्म कानूनी लडाइँ चल्ने संकेत पाइएको छ ।
रस्ट बेल्टका भोटहरू अलिअलि आउन थालेका छन् । पेन्सिल्भेनिया, विस्कोन्सिन र मिशिगन राज्यका मतका विषयमा अनिश्चितता कायम छ ।
विवाद समाधान हुन समय लाग्ने लक्षण देखिएको छ ।