
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवालय सदस्यहरूलाई बोलाएर बैठक बस्नु पार्टी विधान र मर्यादाविपरित रहेको प्रधान्मन्त्री कार्यालय बालुवाटारले जनाएको छ ।
शुक्रवार अपराह्न ३ बजे प्रचण्डले सबै सचिवालय सदस्यलाई पछिल्लो घटनाक्रमका बारेमा ब्रिफिङ गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा डाकेका छन् ।
अनौपचारिक भनिएको भेलामा सचिवालय सदस्यहरू सबैलाई डाकिएको प्रचण्डनिकट स्रोतले बताएको छ ।
तर बालुवाटारले अध्यक्ष प्रचण्ड एक्लैले बैठक बोलाउनु पार्टी मर्यादा र विधानविपरित भनेर टिप्पणी गरेको हो ।
'औपचारिक बैठक हो भने त्यसरी बैठक बोलाउनु विधानविपरित हो,' प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, 'त्यो अनौपचारिक भेला मात्र हो । प्रधानमन्त्रीसँग त्यसबारेमा कुनै छलफल भएको छैन । उहाँ सहभागी पनि हुनुहुन्न ।'
अध्यक्ष प्रचण्ड पक्षका नेताहरूले भने भेला औपचारिक नभएर अनौपचारिक रहेको बताएका छन् ।