
जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित स्वास्थ्य चौकीमा ५ शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
अस्पतालमा अहिले आइसोलेसनका लागि शय्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भने, ‘विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यक पर्ने सबै सुविधा उपलब्ध गराउनको लागि स्थानीय सरकार लागि परेको छ ।’
तातोपानी कोभिड अस्पताल जिल्लाका १ नगरपालिका र ७ गाउँपालिकामध्ये पहिलो बनेको अस्पताल हो । अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटर सहितको उपकरण थप्ने उनले जानकारी दिए ।
केन्द्र सरकारले कोभिड अस्पताल निर्माणको लागि १० लाख रुपैयाँ पठाएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईं कोरोना संक्रमितको उपचार र रेखदेख कोभिड अस्पतालले गर्ने बताए । सो अस्पातलमा अहिले २ नर्स र १ जना कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
गत चैतदेखि १२ जनालाई कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५ जना निको भएर घर फर्किसकेका छन् । गाउँपालिकाभर ८०० भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । गाउँपालिकामा ५० शय्याको आइसोलेसन समेत स्थापना भएको छ ।
कोभिड अस्पतालका लागि २ पटक विज्ञापन गर्दा समेत मेडिकल अधिकृत भेटिएकाका छैनन् । यसका कारण चिकित्सकीय सेवा दिन सकिएको छैन् । यहाँका हरेक गाउँपालिकामा ५ शय्याको कोभिड अस्पताल निर्माण गर्ने परिपत्र र बजेट स्थानीय तहमा आए पनि अन्य स्थानीय तहले अस्पताल निर्माण गर्न सकेका छैनन् ।
गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीय बताउँछन् । उनीहरू अब संक्रमितको पनि गाउँमै रेखदेख, नियमन र उपचार हुने भन्दै स्वास्थ्यका हिसाबले निकै राम्रो भएको अनुभूति भइरहेको स्थानीय लकं बुढाले जानकारी दिए ।