३२ असार २०८३, बिहीबार

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव ज्ञवाली नियुक्त

कात्तिक २५, २०७७
काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव ज्ञवाली नियुक्त

सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव राजेश्वर ज्ञवालीलाई नियुक्त गरेको छ । 

मन्त्रिपरिषद्ले महानगरपालिकामा कार्यरत सचिव एकनारायण अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नेपाल सरकारको सचिव रहने व्यवस्था परिवर्तन गर्दै सहसचिव दरवन्दी कायम गरेको थियो । 

यसरी गरिएको परिवर्तित दरवन्दी अनुसार सरकारले प्रशासकीय निर्णय क्षमता भएका एवम् प्राज्ञिक प्रशासकको रुपमा परिचित सहसचिव ज्ञवालीलाई राजधानी महानगरको प्रशासकीय प्रमुखको जिम्मेवारी सुम्पेको हो । 

सहसचिव ज्ञवाली विगत एक वर्षदेखि नै महानगरपालिकामा कार्यरत थिए । विगतको अनुभव, कार्यक्षमता, सहभागितामूलक कार्यसंस्कार एवम् विषयगत ज्ञानका आधारमा सरकारले सहसचिव ज्ञवालीलाई राजधानी महानगरको प्रशासकीय प्रमुखको जिम्मेवारी दिएको मन्त्रालय स्रोतले बताएको छ । 

२०५९ सालमा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृतको रुपमा सेवा प्रवेश गरेका उनी २०६७ सालमा उपसचिव हुँदै २०७३ सालमा प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरी सहसचिव बनेका थिए ।   

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंचाई मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यानुभवप्राप्त ज्ञवाली सहसचिव नियुक्ति पश्चात सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा नेपाल ट्रष्टको कार्यालयमा सहसचिवका रुपमा काम गरिसकेका छन् ।  

निजामती वृत्तमा कुशल प्रशासकको छवि निर्माण गरेका ज्ञवाली शासकीय सफलता र जनसन्तुष्टिका लागि स्थायी सरकारको निर्णय क्षमता बढाउनुपर्ने कुरामा जोड दिन्छन् । ढिलो निर्णय र अनिर्णय दुवै सुशासनको बाधक भएको मान्यता राख्ने ज्ञवाली आफुलाई प्राप्त जिम्मेवारी कानूनको परिधिभित्र रहेर परिपालना गर्न हिच्किचाउन नहुने मान्यता राख्छन् ।   

प्रभावकारी र दक्षतापूर्ण कार्यसंस्कारबाट मात्रै सरकार र जनता दुवैको लक्ष्य प्राप्तिमा योगदान गर्न सकिने बताउँदै उनले लोकान्तरसँग भने; मेरो वृत्ति जीवनको हालसम्मको अनुभव र ज्ञान एवम् जवाफदेहितापूर्ण कार्यसंस्कारको उपयोग गरी महानगरपालिकाको शासकीय प्रभावकारितामा योगदान दिन प्रतिवद्ध छु ।'

ज्ञवाली निजामती क्षेत्रमा प्राज्ञिक व्यक्तित्व भएका प्रशासक हुन् । नेपालबाट जनप्रशासनमा स्नातकोत्तर, दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट अन्तरराष्ट्रिय व्यापारमा स्नातकोत्तर र इटालीको टुरिन विश्वविद्यालयबाट बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी कानूनमा स्नातकोत्तर पूरा गरेका प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली हाल दक्षिण कोरियाकै सिओल नेशनल विश्वविद्यालयबाट सूचना, प्रविधि एवम् सार्वजनिक नीतिमा विद्यावारिधी पुरा गर्ने क्रममा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्