
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार गएका छन् ।
पार्टीमा विवाद चर्किएका बेला छलफलका लागि प्रचण्ड बालुवाटार गएका हुन् । यसअघि मंगलवार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई भेटेर ओलीसँग एक्लै छलफल गर्न आग्रह गरेका थिए ।
यसअघि प्रचण्डले ओलीसँग एक्लै छलफल नगर्ने र सचिवालय बैठक बोलाउनुपर्ने माग राख्दै आएका थिए । नेकपा सचिवालयका बहुमत ५ सदस्यले मंगलवारै पार्टी कार्यालयमा अपराह्न ४ बजे छलफल गर्ने तय भएको छ । त्यसअघि बालुवाटारमा ओली–प्रचण्डबीच छलफल शुरू भएको छ ।
नेकपा सचिवालयमा रहेका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन ओलीसँग लिखित माग गरेपनि सुनुवाइ भएको छैन । सचिवालय बैठक राख्नुअघि दुवै अध्यक्षबीच सहमति हुनुपर्ने प्रधानमन्त्री ओलीको अडान छ ।