
कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि झापामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ ।
बिर्तामोडमा स्थापना गरिने बैंकबाट घरमै उपचार गरिरहेका कोभिड १९ का संक्रमितलाई उपचारमा सहज सेवा दिने उद्देश्यले अभियानले अक्सिजन बैंकको स्थापना गर्ने भएको हो ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीले संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको कारण अस्पतालमा बिरामीले बेड नपाउँदा श्वासप्रश्वासमा समस्या हुने भएपछि बिरामीलाई घरमै सेवा दिन अक्सिजन बैंकको स्थापनाको तयारी गरेको बताए ।
उनले १५ दिनभित्रमा १२ लाख रूपैयाँको लगानीमा २ सय अक्सिजनका सिलिन्डरको भण्डारण गरेर बैंक शुरू गर्ने बताए ।
उनले कोरोना संक्रमणका कारण घरमै उपचार गराइरहेका आर्थिक रुपमा सामान्य, असहाय र विपन्न परिवारलाई निःशुल्क सिलिण्डर उपलब्ध गराउने भए पनि अन्यलाई भने सःशुल्क सेवा दिइने बताए ।
संयोजक गिरीले कोभिड सूचना तथा सहायता केन्द्रको समेत स्थापना गरेर कोरोना संक्रमितलाई निःशुल्क परामर्श दिइने जानकारी दिए । अभियानले यसअघि झापाको कनकाईमा पीसीआर प्रयोगशाला स्थापना गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
१ करोड २ लाख ५६ हजार रूपैयाँको लागतमा अत्याधुनिक प्रयोगशाला स्थापना गरेको अभियानले प्लाज्मा बैंक स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोडलाई ११ लाख रुपैयाँ प्रदान गरेको थियो ।