२५ जेठ २०८३, सोमबार

कोरोनाविरुद्ध खोप बनाउने दौड : कहिलेसम्म कुन आइपुग्छ ?

कात्तिक २६, २०७७
कोरोनाविरुद्ध खोप बनाउने दौड : कहिलेसम्म कुन आइपुग्छ ?
प्रतिकात्मक तस्वीर

संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ?

यसको उत्तर सहज छैन । तर धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन् । अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन् । फाइजर र बायोएनटेकबाहेक अन्य ९ वटा खोप तेस्रो चरणको परीक्षणमा छन् ।

जर्मनीको बायोएनटेक कम्पनीसँग मिलेर फाइजरले विकास गरेको खोपको परीक्षण सफल भएको घोषणा गरेको छ । विभिन्न ६ देशका ४३ हजार ५ सय ५३ व्यक्तिमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको फाइजर र बायोएनटेकको दाबी छ ।

खोप विकासमा सफलताउन्मुख कम्पनी हो मोडर्ना इंक । अमेरिकन बायोटेक्नोलोजी कम्पनी मोडर्ना इंकले पनि खोप विकासमा महत्त्वपूर्ण सफलतानजिक रहेको घोषणा गरेको छ । उसले तेस्रो चरणको परीक्षणअन्तर्गत ३० हजार व्यक्तिमा खोप परीक्षण गर्दै छ । जसमध्ये २५ हजार ६ सय ५४ जनाले दोस्रो खोप लिएका छन् ।

मोडर्ना र फाइजर र बायोएनटेकले यही महिना अन्तिमसम्म सर्वसाधारणमा खोप प्रयोगका लागि आवश्यक अनुमति आपत्कालीन रूपमा प्राप्त गर्न अनुमति दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यी दुवैले अर्को वर्ष मध्यसम्म आमनागरिकको उपभोग गर्ने गरी खोपको विकास गरिसक्ने घोषणा गरेका छन् ।

तेस्रो चरणको परीक्षणको अन्तिम चरणमा रहेको खोप हो अक्सफोर्ड–एस्ट्राजेनेका बेलायत । अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको यो खोप डिसेम्बर अन्तिमसम्म तेस्रो चरणको परीक्षणको नतिजा आउन सक्छ । तर क्रिसमसअघि नै नतिजा आउन सक्नेमा भने स्वयम् खोपका प्रमुख परीक्षण अन्वेषक ढुक्क छैनन् । खोपका बारेमा अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अन्वेषक एन्ड्र्यु पोलार्डले भने, ‘यो वर्षको अन्तिमसम्म हामी खोप विकासमा सफल हुन्छौं ।’ उनले सफलताको नजिक पुगे पनि ढुक्क हुने अवस्था नरहेको स्पष्ट पारे ।

जोनसन एन्ड जोनसन कोरोना भाइरस खोप

जोनसनले अघिल्लो महिना ६० हजार व्यक्तिमा तेस्रो चरणको खोप परीक्षण सुरु गरेको थियो । परिणाम अर्को वर्षको सुरुसम्म आइसक्ने उसको विश्वास छ । परीक्षण सफल भए जोनसनले सन् २०२१ सम्ममा एक अर्बभन्दा बढी परिमाणमा खोपको विकास गर्ने भएको छ ।

पहिलो र दोस्रो चरणको परीक्षणमा खोपले मानिसमा प्रतिरोधात्मक क्षमता बढाएको अनुसन्धानले देखाएको छ ।

गामालिया रिसर्च सेन्टर (रुस)

गामालिया रिसर्च सेन्टरले पनि कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेको छ । स्पटनिक भी नाम दिइएको खोप विश्वकै पहिलो दर्ता गरिएको खोप भएको दाबी छ । जुन विश्व स्वास्थ्य संगठनले तेस्रो चरणको परीक्षणका लागि मान्यता दिएको विश्वका १० खोपमध्ये एक हो । रसियाका ४० जना नागरिकमा यसको परीक्षण हुँदैछ । २ चरणको खोप प्रभावकारी भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । रसियाली नागरिकले खोप निःशुल्क पाउनेछन् भने सुरुमा स्वास्थ्यकर्मी, शिक्षक, यातायातकर्मी र सुरक्षाकर्मीलाई खोप उपलब्ध गराइनेछ ।

तेस्रो चरणको परीक्षण अनुमति पाउने विश्वका १० खोपमध्ये चीनमा विकास भइरहेको क्यानसिनो पनि एक हो । क्यानसिनोले शनिबार परीक्षण सुरु भएको जनाएको छ । उसले क्यानसिनो खोप मेक्सिकोमा परीक्षण गरिरहेको छ । १५ हजार नागरिकमा परीक्षण गरिने खोप मेक्सिकी अधिकारीबाट अक्टोबरमै अनुमति पाइएको कम्पनीले जनाएको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार मेक्सिको सरकारसँग क्यानसिनोले ३ करोड ५० लाख खोप उपलब्ध गराउने सम्झौता गरेको छ ।

चीनमै बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट र सिनोफार्मका साथै बुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट र सिनोफार्मले संयुक्त रूपमा खोपको विकास गरिरहेका छन् । अमेरिकी कम्पनी नोभाभाक्सले पनि कोरोना खोपको तेस्रो चरणको परीक्षण अनुमति पाएको छ ।

चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोरोना खोप भने विवादित बनेको छ । सिनोभ्याकले ब्राजिलको बुटान्टान इन्स्टिच्युटसँग सहकार्य गरेर तेस्रो चरणको खोप परीक्षण गर्ने तयारी गरेको थियो । तर ब्राजिल सरकारले त्यसमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १ लाख ३० हजार स्वयम्सेवीमा खोप परीक्षण गर्ने तयारी थियो ।

ब्राजिलका स्वास्थ्य अधिकारीले त्यसमा रोक लगाएपछि सिनोभ्याकलाई ठूलो धक्का लागेको छ । ब्राजिल सरकारले खोपको सुरक्षामाथि प्रश्न उठाएको जनाइएको छ । सिनोभ्याकले भने खोपको सुरक्षामाथि कुनै प्रश्न नरहेको दाबी गरेको छ ।

चीनको हुवेई प्रान्तको वुहान शहरमा अघिल्लो वर्ष डिसेम्बरमा पहिलो पटक कोरोना भाइरस भेटिएको थियो । त्यसबेला धेरै देशले सोचेका पनि थिएनन् कि कोरोना महामारीका रूपमा विश्वभर फैलिनेछ । त्यसैले चीनमा कोरोनाले भयावह रूप लिँदै गर्दा बाँकी विश्व आफ्नै धुनमा थियो । त्यसको परिणामस्वरूप केही महिनामै कोरोना चीनको सीमापार गर्दै विश्वका कुना–कुना पुग्यो । कोरोनाकै कारण लाखौंको ज्यान जानुका साथै करोडौं संक्रमित भए । विश्वका शक्तिशाली मुलुकहरूबीच कोरोनाको खोपको विकास गर्ने प्रतिस्पर्धा नै चल्यो ।

विश्व स्वास्थ्य संगठनले कुनै पनि खोपलाई आमनागरिकले प्रयोग गर्न मिल्ने गरी अनुमति दिइसकेको छैन । तर विभिन्न देशले खोप विकासलाई आफ्नो प्रतिष्ठाका रूपमा अगाडि बढाएका छन् । यति बेला शक्तिशाली मुलुकबीच कसले सबैभन्दा पहिला खोपको विकास गर्ने भन्ने प्रतिस्पर्धा छ ।

संगठनले विभिन्न निकायमार्फत विश्वभरका वैज्ञानिक, व्यवसायी र विश्वव्यापी स्वास्थ्य संस्थाहरूको सहयोगमा कोरोना नियन्त्रणमा काम भइरहेको जनाएको छ । तर जब सुरक्षित र प्रभावकारी खोप फेला पर्छ तब सबै देशमा आमनागरिकको रक्षा गर्न ती खोप पुर्‍याइने संगठनको दाबी छ । त्यस्तै उसले सबै देशलाई खोपमा समान पहुँच र वितरणको सुविधा प्रदान गर्ने पनि जनाएको छ । उसले खोप वितरण गर्दा जोखिममा पर्ने व्यक्तिलाई प्राथमिकता दिइने स्पष्ट पारेको छ । (एजेन्सीहरूको सहयोगमा) अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्