दुर्गानाथ शर्मा पत्रकारितातर्फ आकृष्ट भै गोरखापत्रमा पस्दा नेपालमा श्रव्य-दृश्य माध्यमको प्रवेश भएको थिएन । श्रव्यमाध्यम सात सालमा खुलेको ‘रेडियो नेपाल’ मा सीमित थियो। संयोग हो, सुधारवादी राणा प्रधानमन्त्री देवशम्शेरले प्रकाशन शुरू गराएको मुलुकको जेठो छापा गोरखापत्रमा कार्यरत शर्मा देशको पहिलो रेडियो प्रसारण संस्था (रेडियो नेपाल) सित समाचार-वाचकको हैसियतमा गाँसिन पुग्नुभयो---२०३२ सालतिर । ‘...दुर्गानाथ शर्माबाट समाचार सुन्नुहोस्’ भन्ने स्वर देशभित्र र छर-छिमेकमा पनि परिचित हुँदै थियो । त्यस बखतका झट्ट ठम्याइने अन्य समाचार-स्वरहरूको चर्चा गर्दा नारायण श्रेष्ठ, तीर्थ भण्डारी, कृष्णा ताम्राकार, ध्रुव थापा, कमल प्रधान, प्रवीण गिरी,प्रचण्डमान सिंहरूको सम्झना हुन्छ । अङ्ग्रेजीतर्फ मणि राणा, हरिश (माइकल) चन्द र गौरी केसीहरू चर्चित नाम हुन् ।
गोरखापत्रको सह-प्रकाशन राइजिङ्ग नेपालका सहकर्मी मित्र कुन्द दीक्षितले एकपल्ट लेखेथे: कुनै दिन नेपालमा टेलिभिजन आएछ भने पहिलो उद्घोषणमै भनिएला---यो नेपाल टेलिभिजन हो, अब दुर्गानाथ शर्माबाट समाचार हेर्नुहोस् ! नभन्दै एक दशक बित्दा-नबित्दै ‘सुन्नुहोस्’ को ठाउँमा ‘हेर्नुहोस्’ भन्ने अवसर आइपुग्यो । अर्थात् दुर्गाजीले जेठो अखबार र जेठो रेडियो हुँदै देशको जेठो टेलिभिजन संस्थामा पाइला हाल्नुभयो । आरम्भमा कलमबाट सिकेको पत्रकारितालाई उहाँले जनजिब्रो अनुकूल परिमार्जन गर्न माइक्रोफोन मार्फत पाउनु भएको थियो । केही पछि चलचित्र खिच्ने क्यामराको अगाडि उभिने पालो आयो । यसरी, टेलिभिजनमा आइपुग्दा शर्माको लागि क्यामरा मात्र नयाँ उपकरण हुन पुग्यो । मुख्य कुरो, नयाँ कार्यक्षेत्रमा जाँदा दुर्गाजीले आत्तिनु (नर्भस हुनु) परेन । सबैले त्यस्तो मौका पाउँदैनन् । यस अर्थमा दुर्गाजी भाग्यमानी हो।
तर मेहनत,लगन र परिश्रमबेगर शर्मा पत्रकारको रूपमा स्थापित हुनुभएको होइन । त्यस्तो हुन सम्भव पनि छैन । अहिलेको दाँजोमा बोधो र भद्दा सञ्चारप्रविधि भएको जमानामा काम गर्न कति कठिन हुँदो हो, यतिखेरका युवा सञ्चारकर्मीले अनुमान गर्न सक्छन् । यातायात सुविधा र टेलिफोन सेवामा संवाददाताहरूको पहुँच ज्यादै सीमित भएकोले समाचार सङ्कलन गर्न निकै कठिनाइ पर्थ्यो। ‘सरकारी’ कै बिल्ला लागे पनि गोरखापत्र, रेडियो नेपाल र राससले समेत त्यस बखतको श्री ५ को सरकारका मन्त्रालय, विभाग, कार्यालय, आयोग आदिबाट खटाई-खटाई दिएका सूचना र जानकारीमा भरपर्नु पर्थ्यो । सार्वजनिक सरोकारका जानकारी समेत ‘गोप्य’ राख्ने परिपाटी थियो । प्रवक्ता राख्ने व्यवस्था नै २०४७ सालमा आएर भएको हो । भनौं, अहिलेका सञ्चारकर्मीलाई आधिकारिक सूचना लिन र जानकारीमा आएका कुराको पुष्टि गराउने सुविधाको लागि समकालीन नेपालका पत्रकारले अथक परिश्रम गरेका हुन् । जे होस्, त्यस बेलाको परिवेशका सञ्चारमाध्यममा काम गरेर पनि तत्कालीन प्रेक्षासमाज (पाठक-श्रोता-दर्शकको समाज) को स्नेह, सद्भाव र विश्वास हासिल गर्नु शर्माको लागि चानचुने उपलब्धि होइन ।
‘सञ्चारमाध्यमको सम्पत्ति भनेको समाचारमा विश्वसनीयता हो’,दुर्गानाथ शर्माले आफ्नू नवीनतम् कृति ‘छाल’ मा लेख्नुभएको छ । अर्को शब्दमा, पत्रकारिताको यो शाश्वत मान्यताबारे उहाँको धारणा र मान्यता ४० वर्षको भुक्तमानपछि पनि ज्यूँको त्यूँ रहेको देखिन्छ । मान्नै पर्छ, यो निष्कर्ष र अडानमा युवापुस्ताको लागि गहकिलो सन्देश छ । यस वर्षको ‘राष्ट्रिय पत्रकारिता दिवस’ ( २४ बैशाख ) मा सगरमाथा टेलिभिजनमा विषय-बहस हुँदा शर्माले यसबारे केही कुरा थप्नु पनि भयो : सञ्चारप्रविधिमा अथाह विकास त भएको छ, तर समाचार-सामग्रीको गुणस्तर झन्-झन् खस्किँदो छ। उहाँको यो निचोडसित को असहमत होला ? चर्चित पुस्तकको एक ठाउँमा लेखिएको छ : ‘ वर्तमानमा पत्रकारिता फस्टाएको, मोटाएको र देशव्यापी पुगेको देखिए पनि शङ्का लाग्छ । रोगीलाई फोक्सो मासु लागेर मोटाएको देखिए जस्तो।‘
नयाँ-पुराना प्रसङ्ग र अग्रज पत्रकारहरूका अनुभवको सँगालो छ यस अढाई शयभन्दा बढी पृष्ठको पुस्तकमा । राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रका राज्यकाल र शासनकालका घटना, दुर्घटनाको चर्चा पाइन्छ; प्रत्यक्षदर्शीको अनुभूति भेटिन्छ । राजाको रूपमा रहेका ज्ञानेन्द्रसितको अन्तर्वार्ता नै किताबमा समावेश गरिएको छ । २०५८ साल जेठमा दरबार हत्याकाण्ड हुँदा वीरेन्द्रको वंश नै सखाप भएको समाचार प्रक्षेपण गर्दा भएको ढिलाइ र परेको असजिलो बारेको वर्णन पेशागत चुनौतीको पक्षमा चासो राख्ने हरेक पत्रकारको लागि उपयोगी हुनेछ । पञ्चायतकाल, संवैधानिक राजतन्त्र र गणतन्त्र घोषणायतासम्मको कालखण्डमा आइपुग्दाको नेपाल र त्यसको सञ्चारक्षेत्रको तुलनात्मक अध्ययनमा रुचि राख्नेका लागि यस संस्मरणात्मक किताबमा प्रशस्त सामग्री पाइन्छ। छपाइका एकाध त्रुटिलाई बिर्सिदिँदा फरक पर्दैन । तिथिमिति नमिलेकोमा भने अर्को संस्करण निकाल्दा सुधार गर्नुपर्ने देखिन्छ।
ध्रुवहरि अधिकारी