बलिउडमा बिहेपछि चर्चित बनेका सेलेब्रिटी थुप्रै छन् । आमिर खान हुन् वा शाहरुख खान, उनीहरूले हिरो बन्नुअघि नै बिहे गरेका थिए । बिहेपछि अर्थात् विवाहित भन्ने थाहा पाए भने सेलेब्रिटीका फ्यान घट्छन् भन्ने आम बुझाइ छ । तर आमिर, शाहरुख, सैफ अली, अर्जुन रामपाललगायतका अभिनेताहरू बिहेपछि नै चम्किएका हुन् । बिहेपछि स्टार बनेका केही अभिनेता–अभिनेत्रीबारे भारतीय अनलाइनले तयार पारेको रिपोर्ट:

आमिर खान
बलिउडका सर्वाधिक सफल अभिनेताका रूपमा कहलिन्छन् आमिर खान । उनले अभिनेताका रूपमा जम्नुअघि नै बिहे गरेका थिए । आमिरकी जेठी श्रीमतीको नाम हो रिना दत्त । रिना आमिरकी छिमेकी थिइन् । आमिर मुसलमान र रिना हिन्दू भए पनि उनीहरूले आफ्नो प्रेमलाई बिहेमा परिणत गरेका थिए । उनीहरूले सन् १९८६ अप्रिल ८ मा भागेर बिहे गरेका थिए ।
१६ वर्षसम्म सँगै जीवन बिताएका उनीहरूले सन् २००२ मा डिभोर्स गरेका थिए । आमिरले नै रिनालाई डिभोर्स दिएका थिए । त्यसपछि उनले सन् २००५ मा किरण रावसँग दोस्रो बिहे गरेका हुन् । रिनाबाट दुई र किरणतिरबाट आमिरका एक छोरा छन् । आमिरलाई आमिर बनाउन रिनाको ठूलो योगदान रहेको छ । तर, आमिर उनीसँग छुट्टिए । पछिल्लो समय भने आमिरलाई किरणले राम्रै साथ दिइरहेकी छिन्।
शाहरुख खान
शाहरुखले पनि चर्चित हुनुअघि नै बिहे गरेका थिए । शाहरुख र उनकी पत्नी गौरीको धर्म पनि फरक–फरक छ । शाहरुख मुसलमान हुन् भने गौरी हिन्दू । तर, दुवैमा निकै समझदारी छ । जसकारण उनीहरूको जोडीलाई बलिउडमा आदर्श जोडीका रूपमा लिइन्छ ।
घरबाट अनुमति नपाउँदा–नपाउँदै पनि शाहरुखले सन् १९९१ मा गौरीसँग बिहे गरेका थिए । उनको पहिलो फिल्म ‘दिवाना’ बिहेको एक वर्षपछि मात्रै रिलिज भएको थियो । दिवानाभन्दा अघि शाहरुखले ‘फौजी’ नामक टेलिसिरियलमा अभिनय गरेका थिए । शाहरुखलाई शाहरुख बनाउन गौरीको अटुट साथ र हौसला रहेको छ ।
सैफ अली खान
सैफ अली खानले अमृता सिंहसँग प्रेम विवाह गरे । त्यतिवेला अमृता सुपरस्टार थिइन् । सैफ भने भर्खर बलिउडमा पाइला राख्दै थिए । सैफले सन् १९९१ मा आफूभन्दा १२ वर्ष जेठी अमृतासँग प्रेम विवाह गरेका थिए । उमेर र धर्म पनि नमिल्ने सैफसँग बिहे गर्न अमृता राजी थिइनन् । तर, सैफको एकोहोरो जिद्दीका कारण अमृताको जोर चलेन ।
अमृतालाई बिहे गरेपछि सैफ पनि हिरो बन्नतिर लागे । उनको पहिलो फिल्म ‘आशिक आवारा’ सन् १९९३ मा रिलिज भयो । त्यसपछि सैफ फिल्ममा व्यस्त हुन थाले । सैफ र अमृताको वैवाहिक जीवन १४ वर्षसम्म चल्यो । त्यसपछि उनीहरूले सम्बन्धविच्छेद गरे । उनीहरूका दुई सन्तान छन्– सारा र इब्राहिम । दुवै सन्तान बलिउडमा डेब्यु गर्ने तयारीमा छन् । सैफले सन् २०१२ मा करिना कपुरसँग बिहे गरे । चार दिनअघि मात्रै सैफलाई करिनाका तर्फबाट पुत्र लाभ भएको छ ।
शशि कपुर
आफ्नो समयका सुपरस्टार शशि कपुरले पनि फिल्ममा आउनुअघि नै बिहे गरेका थिए । उनले सन् १९५८ मा हलिउड अभिनेत्री जेनिफर केन्डलसँग बिहे गरेका थिए । शशिको पहिलो फिल्म ‘धरमपुत्र’ सन् १९६१ मा रिलिज भएको थियो । त्यसपछि उनले झन्डै सवा एक सय फिल्ममा अभिनय गरे ।
डिम्पल कपाडिया
अभिनेत्री डिम्पल कपाडियाले सुपरस्टार राजेश खन्नासँग त्यतिवेला बिहे गरेकी थिइन्, जतिवेला उनको पहिलो फिल्म ‘बेबी’ रिलिज नै भएको थिएन । उनले राजेशसँग सन् १९७३ मा बिहे गरेकी थिइन् । बिहेको ६ महिनापछि मात्रै उनको डेब्यु फिल्म रिलिज भएको थियो । प्रेमका अगाडि करिअर वास्ता नगरेकी डिम्पलले बिहेपछि केही फिल्ममा अभिनय गरिन् । उनको डेब्यु फिल्म बेबी सुपरहिट भएको थियो । तर, पछि उनले परिवारलाई नै प्राथमिकतामा राखिन् ।
अर्जुन रामपाल
हिरो बन्नुअघि नै विवाह गरेका अर्का अभिनेता हुन्, अर्जुन रामपाल । बिहे गर्नुअघि अर्जुनलाई बलिउडमा कसैले चिन्दैनथे । अभिनयमा प्रवेश गर्ने सोच पनि थिएन उनको । उनले सन् १९९८ मा मिस इन्डिया मेहर जेसियासँग बिहे गरेका थिए । बिहेको तीन वर्षपछि सन् २००१ मा ‘प्यार इश्क और मोहब्बत’ अर्जुनले बलिउडमा डेब्यु गरेका हुन् । अर्जुन र मेहरका दुई छोरी छन् । पछिल्लो केही समययता अर्जुन ऋतिक रोशनकी पत्नी सुजैनसँगको सम्बन्धका कारण विवादमा आउने गरेका छन् ।
आयुष्मान खुराना
सन् २०१२ मा ‘बिक्की डोनर’ फिल्मबाट डेब्यु गरेका आयुष्मान खुराना पछिल्लो समयका चर्चित अभिनेतामा पर्छन् । जोन अब्राहमले निर्माण गरेको बिक्की डोनरमा अभिनय गर्नुअघि नै उनले बिहे गरिसकेका थिए । आयुष्मानले सन् २०११ मा ताहिरासँग बिहे गरेका थिए । ताहिरा आयुष्मानकी बच्चादेखिकी साथी हुन् ।
चित्रागदा सिंह
बलिउडकी हट अभिनेत्रीमा पर्छिन् चित्रागदा । यिनले सन् २००१ मा गल्फर ज्योतिसिंह रन्धावासँग बिहे गरेकी थिइन् । ‘हजारौँ ख्वाइस ऐसी’ फिल्मबाट डेब्यु गरेकी उनले आफूलाई श्रीमान्को राम्रो साथ र हौसला रहेको बताउने गरेकी थिइन् । तर, सन् २०१४ मा उनीहरू छुट्टिए । उनीहरूका एक छोरा छन् । -नयाँ पत्रिकाबाट