स्थानीय तहको निर्वाचनका लागि पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ स्थित चण्डी सामुदायिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्विरः वासुदेव पौडेल, पोखरा, रासस
नुवाकोट, ३१ वैशाख– ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी छन् ।
उहाँले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिए ।
विसं १९५९/१२/१० मा जन्मिएकी लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बताइन् । यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रको शुभारम्भ गरे ।
यता, सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षीय अनन्तप्रसाद अधिकारीले मतदान गरे । मतदान अधिकृत सिंहबहादुर तामाङका अनुसार बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरी शुभारम्भ गरिएको हो ।
लमजुङमा ९३ वर्षीया गुरुङद्वारा मतदान त्यसैगरी लमजुङमा ९३ वर्षीया नैनाकुमारी गुरुङले मतदान गरेकी छन् ।
दूधपोखरी गाउँपालिकाअन्तर्गत बालोदय आधारभूत माविमा रहेको मतदान केन्द्रमा गुरुङले मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिएका सहसचिव शङ्करप्रसाद खरेलले जानकारी दिए ।