
पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु भएको छ । १ यात्रु घाइते भएकी छन् ।
दुर्घटनामा परी पोखरा महानगरपालिका–२८ कालिका निवासी ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो ।
घाइते हुनेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ निवासी २८ वर्षीया शीला श्रेष्ठ हुन् ।
फिस्टेल नेपाल अन्तर्गतको ग्लाइडर फेवाताल किनारमा ल्याण्ड गर्ने क्रममा सोमवार खपौदी क्षेत्रस्थित ल्यान्डिङ जोनभन्दा झण्डै डेढ किलोमिटरमाथि दुर्घटनामा परेको हो ।
दुर्घटनापछि घाइते दुवै जनाको उपचारार्थ पोखराको सिर्जना चोकस्थित मेट्रो सिटी अस्पतालमा पुर्याइएकोमा पाइलट नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ । उनको थप उपचारार्थ काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पछिल्लो समय पोखरामा प्याराग्लाइडिङ उडान गर्नेहरूको आकर्षण बढेको छ । दैनिक ६०० सम्म उडान गरेको छ । हाल पोखरामा ६१ कम्पनी रहेकोमा ५० कम्पनी नियमित सञ्चालनमा छन् ।