
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग गोप्य भेटघाट गरेको भनी गरिएको दाबीलाई रियादले खण्डन गरेको छ ।
नेतान्याहुले यसमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
सोमवार इजरायली सरकारका एक मन्त्रीले नेतान्याहु साउदीको नियोम शहरमा पुगेको र बिन सलमान तथा अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओसँग कुराकानी गरेको बताएका थिए ।
तर हिजै साउदीका परराष्ट्रमन्त्री फैसल बिन फरहानले इजरायल र साउदी अरबबीच यस्तो अभूतपूर्व वार्ता नभएको बताए ।
‘यस्तो भेटघाट भएकै छैन,’ उनले ट्वीट गरे । ‘त्यहाँ अमेरिकी र साउदी अधिकारीहरू मात्र उपस्थित थिए ।’
तर यसअघि इजरायलका शिक्षामन्त्री योआभ गालान्टले बिन सलमान र नेतान्याहुबीचको वार्ता गजबको उपलब्धि भनी बताएका थिए ।
‘यस्तो भेटघाट भयो र यसलाई अर्ध आधिकारिक रूपमा भए पनि सार्वजनिक गरियो, त्यही नै महत्त्वपूर्ण कुरा हो,’ उनले इजरायलको आर्मी रेडियोलाई बताए ।
उक्त भेटघाटमा इजरायलको गुप्तचर संस्था मोसादका प्रमुख पनि उपस्थित रहेको आर्मी रेडियो र कान पब्लिक रेडियोले सोमवार खबर दिए ।
विमान उडान डेटा हेर्दा नेतान्याहुले प्रयोग गर्ने एउटा निजी विमान तेल अभिभबाट नियोमका लागि आइतवार राति उडेको र नियोममा लगभग दुई घन्टा बसेको भनी इजरायली दैनिक पत्रिका हारेत्जले खबर दियो ।
त्यही विमान नेतान्याहुले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न जाँदा प्रयोग गरेको र ह्वाइट जाँदा पनि त्यसैलाई प्रयोग गर्न खोजेको दाबी पनि उक्त समाचारमा गरिएको छ ।
तर लिकुड पार्टीको एक बैठकमा यस भ्रमणका विषयमा सोध्दा नेतान्याहुले भने, ‘तपाईं गम्भीर हुनुहुन्छ ? साथीहरू, यस्ता कुरामा मैले टिप्पणी नगर्ने गरेको वर्षौं भइसकेको छ र अहिले आएर त्यो काम म गर्दिनँ ।’