
महोत्तरीको बर्दिबास नगरपालिका तनावग्रस्त भएको छ ।
६ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गरेको भन्दै स्थानीय भीडले आरोपित व्यक्तिको घर जलाइदिएका छन् भने राजमार्ग समेत अवरुद्ध गरेका छन् ।
मंसिर ७ गते साँझदेखि हराइरहेकी बालिकाको शव मंगलवार फेला परेपछि स्थानीयको भीडले आरोपीको घर जलाएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईंले लोकान्तरलाई बताएका छन् ।
‘स्थानीय शहीद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातून मंसिर ६ गते साँझदेखि हराइरहेकी थिइन्,’ डीएसपी चापागाईंले भने, ‘एउटा पोकमा बालिकाको शव फेला परेको सूचनाका आधारमा खोज्दा मध्यरातमा बालिकाको शव बरामद गरिएको थियो ।’
हत्याको आरोपमा प्रहरीले महोत्तरीकै गौशाला घर भएका अरुणकुमार साहलाई नियन्त्रणमा लिइसकेको समेत उनले बताए । आरोपीको नाम बाहिरिएपछि स्थानीयको भीडले साहको बर्दिबासस्थित घरमा आगजनी गरेको छ । आगो निभाउन बर्दिबास नगरपालिकाको दमकल गए पनि स्थानीयले अवरोध गरेका कारण आगो निभाउन सकिएको छैन ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले १ दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको जनाइएको छ ।