११ असार २०८३, बिहीबार

मन्त्री, मुख्यमन्त्रीदेखि सांसदसम्मलाई छाडेन कोरोनाले, यी हुन् संक्रमित ‘भीआईपी’

मंसिर १०, २०७७
मन्त्री, मुख्यमन्त्रीदेखि सांसदसम्मलाई छाडेन कोरोनाले, यी हुन् संक्रमित ‘भीआईपी’

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट हालसम्म संघीय सरकारका ५ जना मन्त्री प्रभावित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार १ प्रदेश प्रमुख र २ प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको संक्रमणलाई जितेका छन् ।

कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी संघीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख सहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित भइसकेका छन् । संवैधानिक अंगका पदाधिकारी मात्र होइन, नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड–१९ को संक्रमणको जोखिम व्यहोरिसकेका छन् ।

नेपाली सेनामा उपरथि र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म संक्रमित भइसकेका छन् ।

संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई रोगको लक्षण नदेखिने चिकित्सको भनाइ छ । संक्रमितमध्ये १५ प्रतिशतमा केही कडा लक्षण देखिने गरेको छ भने ५ प्रतिशतले आईसीयू तथा भेन्टिलेटर प्रयोग गर्नपर्ने हुनसक्ने अनुमान गरिएको छ । 

कोभिड–१९ का बिरामीलाई अस्पतालको शय्यामा राख्नुपरेमा प्रतिव्यक्ति १५ हजार रुपैयाँ, सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गर्नुपरेमा ७ हजार तथा आईसीयूमा भेन्टिलेटर सहितको सेवा दिन परेमा प्रतिदिन प्रतिव्यक्ति १५ हजार रुपैयाँका दरले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ ।

तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड–१९ को संक्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

अहिले देखिरहेको प्रभावका आधारमा आगामी ४ महिनामा बढीमा १ लाख ४५ हजार व्यक्ति थप संक्रमण हुनसक्छन् भन्ने अनुमान गरी सुझबुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री ढकालले भने, ‘कुनै राजनीतिक दल, लिंग, जाति, तहतप्का, भूगोल र समुदाय विशेष भनेर नछुट्याउने साझा शत्रुका रूपमा रहेकाले कोरोनाविरुद्ध साझा मोर्चा निर्माण गरी यसमाथि विजय प्राप्त गर्नु आजको आवश्यकता हो ।’

salt training

कमेन्ट गर्नुहोस्