
स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच बुधवार ४ बुँदे सहमति भए पनि बिहीवार समेत बर्दिबासमा विरोध प्रदर्शन जारी छ ।
स्थानीय ६ वर्षीया बालिकाको हत्या र आन्दोलनमा रहेका सञ्जय न्यौपानेको मृत्युपछि बर्दिबासमा आक्रोश बढेको छ ।
वार्ता समितिका सदस्यहरू गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर लिखित सम्झौता कार्यान्वयन गराउन काठमाडौं लागेका बेला बर्दिबासको सडकमा बिहीवार पनि प्रदर्शनकारीहरू देखिएका छन् ।
‘हाम्रो आन्दोलन जारी छ, छोरीलाई सुरक्षा गर, छोरी मार्न पाइँदैन, बलात्कारीलाई फाँसी दे’ लगायतका माग राखेर प्रदर्शन जारी राखिएको छ । ‘हामीलाई न्याय चाहियो, ढूंगामुढा गर्दैनौं, गोली ठोक्न पाइँदैन’ भनेर नाराबाजी गर्दै प्रदर्शनकारीहरू बर्दिबासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका छन् ।
सर्वदलीय वार्ता समितिका संयोजक चिरञ्जीवी हमालका अनुसार आफूहरू बुधवार भएको लिखित सहमतिको पालना गराउनका लागि काठमाडौं गइरहेको बेला बलिरहेको आगोमा आगो ताप्न केही मानिसले आन्दोलन जारी राखेको बताएका छन् । ‘आज गृहमन्त्रीज्यूसँग भेट्न समय पाएका छौं,’ हमालले भने, ‘मृतकलाई शहीद घोषणा गर्ने, घटनाको छानबिन समिति गठन गर्ने, घाइतेको उपचार खर्च तथा मृतक परिवारलाई क्षतिपूर्ति सहितको कार्यान्वयनका लागि काठमाडौं गइरहेका छौं ।’
