
सधैँका वर्षमा जाडो छल्न केही समयका लागि आफ्नो बस्ती नै छाडेर अन्यत्र जाने घुन्साकी पेम्बाफुटी शेर्पाको परिवारलाई यस वर्ष कतै जानका लागि पर्याप्त खर्च छैन । अहिले ती गाउँका ४० घर परिवारमध्ये केहीले तराईलगायतका ठाउँमा घुमफिर गर्न, आफन्तसँग भेटघाटलगायतका लागि निस्किने तयारी गरिरहेका छन् । पेम्बाफुटीसहितका केही स्थानीयबासी भने घरैमा आगो तापेर जाडो काट्ने मनस्थितिमा पुगेका छन् ।
कोरोना सङ्क्रमणका कारण पर्यटकको आगमन नहुँदा र आलु उत्पादनमा समेत गिरावट आएकाले उनीहरु जाडो सहेर पनि घरमै बस्न लागेका हुन् । “अहिलेको साल आलु पनि फलेन, कोरोनाले पर्यटक पनि आएनन्, जाडो छल्न तलतिर जाऊँ भने खर्च छैन, अब घरमै बसेर आगो ताप्ने त होला नि”, पेम्बाफुटीले भनिन् । नजिकै रहेकी पासाङ छोक्प्यालाई पनि उस्तै समस्या छ । “जङ्गली जनावरको आक्रमण, खर्कको अभाव लगायतले पहिले जस्तो पशुपालन पनि छैन, यसपाली आलु पनि राम्रो फलेन, पर्यटक पनि आएनन्, जाडोमा कहाँ जानु होला र”, उनले भनिन्।
हरेक वर्षको जाडो याममा यहाँका केही मानिस औल क्षेत्रमा सरेर बस्छन् त कोही काठमाडौं, तराईका विभिन्न जिल्ला, भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँमा आफन्त भेटघाट र घुमफिरका लागि जाने गर्छन् । एक÷दुई घर पशुपालन भने घरैमा बस्न पनि बाध्य हुन्छन् । जाडोको मूख्य समय मङ्सिरदेखि फागुन सम्म यहाँका स्थानीयवासी फुर्सदिला हुन्छन् । पर्यटक पनि नआउने र काम पनि नहुने हुँदा घुमफिर र आफन्तसँगको भेटघाटका लागि पर्याप्त समय हुन्छ । यस वर्ष यहाँका अधिकांशले फुर्सद पाए पनि खर्च नभएकाले सधैँजस्तो बाहिर जाने मौका नपाउने देखिन्छ ।
कञ्चनजङ्घाको फेदमा झण्डै तीन हजार ४०० मिटरको उचाइमा अवस्थित घुन्सा गाउँका बासिन्दा पर्यटन, पशुपालन, गलैँचा उत्पादन र आलुखेतीबाटै निर्भर छन् । कोरोना सङ्क्रमणका कारण यस वर्ष पर्यटकको आगमन ज्यादै न्यून रहेको र अन्य आम्दानीको बाटोसमेत प्रभावित बनेको स्थानीयबासीले बताएका छन् । “कोरोनाका कारण यस वर्ष पर्यटक आएनन्, पहिले दुई मौसममा गरी पाँच÷छ सय विदेशी पर्यटक आउँथे, उनीहरुबाटै यहाँका बासिन्दा पालिन्थे, यो वर्ष १२ जनाबाहेक आएका छैनन्, यसले पनि घुन्सामा आर्थिक मन्दी छ”, स्थानीय होटल व्यवसायी टाँसी छेतेनले भने । उनका अनुसार स्वदेशी पर्यटक भने फाट्टफुट्ट पुग्ने गरेका छन् ।
जङ्गली जनावरको आक्रमण र चरन क्षेत्रको अभावले पशुपालक र सङ्क्रमणले नाका बन्द रहँदा गलैँचा व्यवसायीसमेत मारमा परेका छन् । “वातावरणीय रुपमा आएको परिवर्तनले खर्क मासिन थालेका छन्, त्यसमाथि याक चौँरी जङ्गली जनावरको आक्रमणमा पर्छन्, यसले पशुपालक किसान समस्यामा छन्, अर्कातिर यहाँको गलैँचा तिब्बत लैजान सकिएको छैन, गलैँचा व्यवसायी पनि समस्यामा छन्, कोरोनाले पर्यटक आउँदैनन्, आम्दानीको बाटो बन्द छ”, स्थानीयवासी हिमाली चुङ्दाकले भने । यहाँ उत्पादित गलैँचा तिब्बतसम्म लगेर बिक्री गर्ने गरिएको छ । पशुपालन र आलु खेतीबाट सोचेजस्तो आम्दानी नहुँदा यहाँका सर्वसाधारणले गलैँचा बुन्ने व्यवसायलाई प्राथमिकता दिएका छन् भने लगानी गर्न सक्नेले होटल व्यवसाय सञ्चालन गरेका छन् ।
घुन्सा नजिक पर्ने फले, ग्याब्लासहितका बासिन्दालाई समेत पर्यटकको आगमन न्यून हुँदा समस्या छ । यी क्षेत्रका बासिन्दा होटल व्यवसायबाटै गुजारा चलाउँदै आएका छन् । जाडोको मौसममा उनीहरु समेत घुमफिर गर्न चाहन्छन् । पशुपालनबाट मात्रै पर्याप्त खर्च नजुट्ने भएकाले आफूहरु यो वर्ष समस्यामा परेको फलेवासीले बताए । जस्तो आम्दानी नहुँदा जाडो छल्न मात्रै नभई काठमाडौँ, दार्जिलिङका स्कुलमा पढ्दै आएका आफ्ना बालबच्चालाई पनि खर्च जुटाउन मुस्किल हुन थालेको स्थानीयवासीको भनाइ छ ।