प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि बुधवारका लागि तय भएको नेकपा सचिवालय बैठक औपचारिकतामा प्रवेश नगरी स्थगित भएको छ ।
ओलीको उपस्थिति विना नै सचिवालय बैठक केहीबेर बसेको थियो ।
पार्टीमा देखापरेका संकट समाधानको लागि अध्यक्ष ओलीको समेत उपस्थितिमा बैठक बस्नुपर्ने भएकाले मंसिर २० गतेसम्मको लागि सचिवालय बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘आज बसेको सचिवालय बैठकमा अध्यक्ष कमरेड केपी ओली उपस्थित हुनुभएन । त्यसकारण आजको बैठकले पार्टीमा देखापरेको संकट समाधानको लागि ओली समेतको उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ आगामी बैठकमा अनिवार्य उपस्थितिको अपेक्षासहित बैठकमा आउन अनुरोध गर्ने निर्णय भयो,’ श्रेष्ठले भने, ‘सचिवालयको अर्को बैठक २० गते १ बजे बस्नेछ ।’
मंसिर २० गतेको बैठकमा पनि ओली नआए के हुन्छ भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता श्रेष्ठले कुनै जवाफ दिएनन् । मंगलवार शुरू भएको सचिवालय बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने भनिएको बैठकका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालयका सबै नेताहरू बालुवाटार पुगेका थिए ।
सचिवालय प्रभावित भएपछि बिहीवारका लागि तय भएको स्थायी कमिटी बैठक मंसिर २१ गते बस्ने गरी तय भएको प्रवक्ता श्रेष्ठले बताए । मंसिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकबारे भने बिहीवार कुनै निर्णय भएन ।