
अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ ।
सन् २०२० को तेस्रो त्रैमासिकमा चीनले अमेरिकालाई पछि पारेको हो । कोरोना ममहामारीका कारण अमेरिकाको व्यापारिक गतिविधि घट्यो भने चिनियाँ गतिविधि बढ्यो ।
यस वर्षको पहिलो नौ महिनामा युरोपेली संघ र चीनबीचको व्यापार ४२५.५ अर्ब युरो रह्यो भने ईयू र अमेरिकाबीच ४१२.५ अर्ब युरोको कारोबार भएको युरोस्टाटको आँकडाले देखाएको छ ।
पोहोर साल यही समयमा चीनसँग ईयूको व्यापार ४१३.४ अर्ब युरो थियो भने अमेरिकासँग ४६१ अर्ब युरो थियो ।
चीनबाट ४.५ प्रतिशत आयात बढेको हो भने निर्यातमा कुनै परिवर्तन आएन ।
तर अमेरिकासँग आयात र निर्यातमा निकै कमी आएको युरोस्टाटले जानकारी दियो ।
ईयू सन् २००४ देखि चीनको शीर्ष व्यापारिक साझेदार रहिआएको छ । तर यसपालि उसले सबैलाई उछिन्यो ।
कोरोनाका कारण पहिलो त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा झट्का लागेको भए पनि अहिले त्यो पूरै उकासिएको छ । तेस्रो त्रैमासिकमा आइपुग्दा त उसको अर्थतन्त्र अरूको भन्दा निकै अगाडि छ ।