
पछिल्लो केही समयदेखि निरन्तर बढिरहेको शेयर बजार (नेप्से) बिहीवार भने दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ५५ दशमलव ४५ विन्दुमा झरेको छ ।
नेप्से घटेपनि बजार सकारात्मक भएको इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले दावी गरे ।
लोकान्तरसँग उनले भने,' यसलाई सामान्य करेक्सन भनेर बुझ्नुपर्छ, यसले बजारलाई झन शसक्त बनाउँछ ।'
नेप्सेका अनुसार,जलविद्युत् र माइक्रो–फाइनान्सबाहेक अरु समूहको शेयर ओरालो लागेको छ ।
जीवन बीमा समूहको शेयर २ सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको शेयर १ सय ६६ अङ्कले, व्यापार समूहको १ सय ६० अङ्कले, उत्पादन समूहको ७२ र बैंक समूहको शेयर ८ अङ्कभन्दा धेरैले घटेको छ ।
बिहीबार दुई सय कम्पनीका एक करोड ५८ लाख ८९ हजार कित्ता शेयर आठ अर्ब दुई करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् ।
नेपाल पुनर्बीमा कम्पनीको मात्रै एक अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीवार साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी र नेपाल सेवा लघुवित्त कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् ।