१० असार २०८३, बुधबार

आठ महिनापछि खुल्यो टीकापुर पार्क

मंसिर २०, २०७७
आठ महिनापछि खुल्यो टीकापुर पार्क

कोरोना प्रभावका कारण बन्द भएको टिकापुर पार्क पर्यटकका लागि खुला गरिएको छ । कोरोना लकडाउन सुरु हुनुअघि देखि बन्द भएको पार्क अहिले खुला गरिएको हो । कैलालीको प्रमुख पर्यटकिय गन्तव्य हो टिकापुर पार्क । 

आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकले पार्कको अवलोकन गर्दै आएको तथ्यांक नगरपालिकासँग छ । 

लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पार्क खुल्ला गरिएको बताइएको छ । 

नयाँ वर्ष र दशैँतिहारको समयमा पार्क अवलोकनमा आउनेको घुइँचो लाग्ने गरेको भए पनि यो वर्ष सो अवधिमा पार्क सुनसान रह्यो । नगरपालिकाको वार्षिक ५० लाख रुपैयाँ आम्दानी हुने पार्कबाट गत वर्ष रु २० लाख पनि आम्दानी हुन सकेन । 

झनै यस वर्ष त त्यति पनि आम्दानी हुने अवस्थामा नदेखिएको पार्कमा कार्यरत विनोद चौधरी बताउनुहुन्छ । नयाँ वर्ष र दशैँतिहारको समयमा मात्रै पार्कले  २० लाखभन्दा बढी आम्दानी गर्ने गरेको छ ।   

अन्य वर्षजस्तै पार्कमा आउने पर्यटकलाई यस वर्ष पार्क बन्द रहेको जानकारी नभएकाले पार्क पुग्दै फर्कदै गरे । बन्दाबन्दी खुलेसँगै टीकापुर पार्कमा पर्यटकको आगमन शुरु भए पनि पार्कको मूल ढोका बन्द हुँदा त्यहीबाट पर्यटक फर्कने गरेका थिए । 

दाङ, सुर्खेत, नेपालगञ्ज, बर्दिया, कञ्चनपुरलगायतका क्षेत्रबाट अवलोकनका लागि आएका पर्यटक पार्क अवलोकन नगरी फर्किएको चौधरीले बताए । 

शनिबार बर्दियाबाट पार्क अवलोकनको लागि आएका शंकर चौधरीले पहिले पनि पार्क अवलोकनका लागि आए पनि धेरैपछि खुला हुँदा अब पर्यटकको आगमन बढ्ने बताए । 

स्वास्थ्यका सबै मापदण्ड पालना गर्न लगाई टीकापुर पार्क अवलोकनका लागि खुल्ला गरिएको कुरा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद शर्माले बताए । 

‘पार्क मात्र खुला गरेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, ‘वनभोजजस्ता कार्यक्रममा भने रोक लगाएको छ तर सञ्चालनका लागि छलफल भइरहेको छ ।’

नगरपालिकाले अवलोकनकर्ताले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सम्बन्धित स्थानमा राखिएको साबुनपानीले हात धुनु पर्ने, पार्कभित्र रहेका जुनसुकै बोटबिरुवा वा रेलिङमा छुन नपाइने जथाभावी फोहर गर्न नपाइने, फोहरलाई सम्बन्धित स्थलमा व्यवस्थापन गर्नुपर्ने, प्रति समूहमा बढीमा २५ जनाभन्दा बढीको सङ्ख्यामा प्रबेश गर्न नपाइने र एक अर्काबीच भौतिक दूरी कायम गर्नेजस्ता शर्त तोकिएको पार्कका कर्मचारी चौधरीले बताए । 
                
 

salt training

कमेन्ट गर्नुहोस्