
लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ तत्काल सार्ने सम्भावना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले बताएका छन् ।
बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवाङको अस्थायी संरचना मै कार्यालयहरु लैजाँदा राज्यलाई करोडौं रुपैया आर्थिक भार पर्ने भएकाले उपयुक्त स्थायी संरचना निमार्ण पछि मात्रै सरकारका संरचनाहरु लैजाँदा उपयुक्त हुने उनीहरुको धारणा छ ।
रिपोर्टर्स् क्लवद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले प्रदेशको राजधानी र नामकरणपछि सरकार दायित्व पूरा नभएको भन्दै नयाँ ठाउँमा राजधानी स्थापित गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताए । ‘प्रदेशसभाको हिउँदे अधिवेशन दाङमा गर्ने हल्ला सुनिएको छ, यही हालतले देउखुरीमा कसरी बैठक बस्न सक्छ । संरचना केही छैनन् ?’
नेकपा लुम्बिनी प्रदेश प्रमुख सचेतक भुमेश्वर ढकालले दीर्घकालिन संरचना निमार्ण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको बताए । उनले प्रदेश सरकार दीर्घकालिन योजना साथ अगाडी बढेको भन्दै प्रतिपक्षले लगाउने गरेको भष्ट्राचारकाे आरोपको खण्डन गरे ।