११ असार २०८३, बिहीबार

जापानमा रहेका पूर्व विद्यार्थीको सहयोगमा विद्यालयमा सीसी क्यामेरा जडान

मंसिर २४, २०७७
जापानमा रहेका पूर्व विद्यार्थीको सहयोगमा विद्यालयमा सीसी क्यामेरा जडान
प्रतिकात्मक तस्वीर

बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयमा सीसी क्यामेरा जडान गरिएको छ ।

सीसी क्यामेरा जडानका लागि विद्यालयका पूर्व विद्यार्थी तुलवीर थापाले १ लाख ६० हजार रुपैयाँ सहयोग गरेका थिए ।

प्रशासनिक कक्ष, कक्षाकोठा र विद्यालय परिसरमा गरी १४ थान सीसी क्यामेरा जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए । विद्यालयको रेखदेख, सुरक्षादेखि कक्षा कोठामा सिकाइमैत्री वातावरण सिर्जना गर्न सीसी क्यामेराले सघाउने समितिको विश्वास छ ।

विद्यार्थी कक्षा कोठामा बस्दा पढाइमा ध्यान नदिने, अनावश्यक कुराकानीमा भुल्ने, शिक्षक पनि समयमा नआउनेजस्ता गतिविधिलाई सीसी क्यामेरामार्फत निगरानी र नियन्त्रण गरिने विद्यालय प्रशासनले जनाएको छ ।

‘सीसी क्यामेरा जडानले विद्यालयको भौतिक सम्पत्तिको सुरक्षामा पनि टेवा पुग्ने छ,’ अध्यक्ष थापाले भने ।

हाल जापानमा रहेका पूर्व विद्यार्थी थापाले विद्यालयको हित हेरेर सीसी क्यामेराका लागि सहयोग गरेको बताए । यसअघि थापा र उनका दाइ टेकबहादुर मिलेर मल्मका सार्वजनिकस्थलमा सीसी क्यामेरा जडानका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

उनीहरूले केही वर्षअघि सोही विद्यालयको स्वर्ण जयन्तीका अवसरमा दिवंगत हजुरबुवा र बुवाको स्मृतिमा २ लाख २१ हजार रुपैयाँ बराबरको अक्षयकोष समेत खडा गरेका थिए । आफूले पढेको विद्यालय प्रतिको दायित्व सम्झेर सहयोग गरिएको तुलवीरले बताए ।

उनले गत महिना परेको आफ्नो जन्मदिनमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

जापानमा रेस्टुराँ व्यवसायमा आबद्ध तुलवीरले विपद्जन्य घटनाका कारण समस्यामा परेका परिवारलाई पनि बेलाबेलामा आर्थिक सहयोग गर्दै आएका छन् । आफू प्रवासमा रहे पनि गाउँप्रति उनको सहयोगी मन र भावना जोडिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्