
कोरोनाभाइरस संक्रमणको त्रासले सरकारले लकडाउन घोषणा गर्यो ।
आमनेपालीहरूले जस्तै करिश्मा मानन्धर पनि गोदावरीको टौखेलस्थित आफ्नै घरमा समय कटाइन् । ८ महिना लामो लकडाउन अहिले भने खुलेको छ । समय पुरानै लयमा फर्किन खोजिरहेको छ ।
८६ वर्षकी सासूआमा, श्रीमान् विनोद मानन्धर तथा छोरी कवितासँग लकडाउनमा घरमै समय कटाइरहेकी करिश्माले लकडाउन खुलेसँगै अभिनयका कामहरूलाई शुरू गरेकी छिन् ।
उनको हातमा अहिले ब्याक टु ब्याक म्युजिक भिडियो छन् । उनले केही समयअघि मात्रै राजेश हमालसँग जोडी बाँधेर म्युजिक भिडियो गरेकी थिइन् ।
हाल उनको अभिनय रहेको म्युजिक भिडियोहरू धमाधम सार्वजनिक भइरहेका छन् ।
तर, कुनै चलचित्रमा आबद्ध भने अहिलेसम्म भइसकेकी छैनन् । करिश्मा भन्छिन्, ‘अहिले तपाईंसँग कुरा हुँदा पनि एक गीतको छायांकनमा व्यस्त छु । अब चलचित्रको काम त कोरोनाको अवस्था के हुन्छ त्यसपछि मात्रै थाहा होला ।’
करिश्माले लकडाउनको समयमा घरमा बस्दा धेरै कुरा सिकेको प्रतिक्रिया दिइन् ।
खाना बनाउने, घर सफा गर्ने तथा विभिन्न क्रिएटिभ कामसँगै नजिकका आफ्ना आफन्त तथा परिवारका सदस्यसँग मज्जाले समय कटाउन पाएकोमा उनी खुशी भइन् ।
करिश्मा भन्छिन्, ‘तर, अध्ययनमा भने कोरोनाले धेरै प्रभाव पार्यो । अब डिस्टर्ब भएको अध्ययनलाई पूर्णता दिनुपर्नेछ ।’
हाल करिश्मा ललितपुर गोदावरीस्थित टौखेल क्षेत्रमा रहेको किटिनी उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गरिरहेकी छिन् । तर, कक्षा ११ को फाइनल परीक्षा भने दिन पाएकी छैनन् ।
भन्छिन्, ‘१२ को अनलाइन कक्षा भइरहेको छ । ११ को परीक्षा नजिकै आइसकेको छ । अहिले अध्ययनमा निकै व्यस्त छु ।’
हाल राजनीतिभन्दा चलचित्रका काम र अध्ययनलाई मुख्य प्राथमिकता दिएको करिश्माले प्रतिक्रिया दिइन् ।
उनले थपिन्, ‘अब बिस्तारै अध्ययनलाई स्पिड दिने र चलचित्रका कामहरू पनि गर्दै जाने योजना गराएकी छु ।’
कक्षा १२ मा पुगेपनि उनले कक्षा ज्वाइन भने गर्न पाएकी छैनन् । अब कोरोनाको औषधि नआउँदासम्म अध्ययनमा निकै डिस्टर्ब होला जस्तो छ, उनले थपिन्, ‘तर, अब कोरोनासँग जोगिएर आफ्ना कामहरूमा ध्यान दिन जरुरी छ ।’
करिश्माले लामो समयदेखि रोकिएको अध्ययन कक्षा ८ बाट पुन शुरू गरेकी थिइन् । उनले अध्ययन शुरू गरेसँगै धेरै आश्चर्यचकित भएका थिए । करिश्माको अठोट छ, ‘अरू जे होस्, अब अध्ययन रोकिनेवाला छैन ।’