
कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा आज सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको आठौँ बैठकले उक्त निर्णय गरेको हो ।
सहमतिअनुसार नेपालमा उत्पादित विद्युत् भारत र बङ्गलादेशसम्म पु¥याउनका लागि अत्यावश्यक सबै पहल गरिने भएको छ । त्यसका लागि बङ्गलादेशसँग समन्वयय गरेर शीघ्र परराष्ट्र मन्त्रालयमार्फत संयुक्त बैठकको आयोजना गरिने भएको छ ।
गत वर्षको असोजमा भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय संयन्त्र बनाउने सहमति भएको थियो । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट झण्डै १० हजार मेगावाट विद्युत् लैजाने इच्छा व्यक्त गरेको छ ।
यस्तै, भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर)ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट समेत ५०० मेगावाट विद्युत् लैजाने विषयमा सहमति भइसकेको छ । श्रव्यदृश्यका माध्यमबाट बैठक आयोजना भएकाले सहमति भएका विषयमा आज हस्ताक्षर भने भएको छैन । आवश्यक संयन्त्रमार्फत पत्राचार गरेर हस्ताक्षर गरिने बताइएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले गर्नुभएको थियो । यस बैठकको तयारीस्वरुप हिजै सह–सचिवस्तरीय नेपाल–भारत संयुक्त कार्य समितिको बैठक सम्पन्न भएको थियो ।
यस्तै, भारत सरकारका ऊर्जा सचिव सञ्जीव नन्दन सहायका साथमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा विभिन्न मन्त्रालय तथा भारतीय राजदूतावास, एनएचपीसी लिमिटेड, एनटीपीसी लिमिटेडलगायतका भारत सरकारअन्तर्गतको सार्वजनिक निकायका अधिकारीसहितको १७ सदस्यीय टोलीको सहभागिता थियो ।