
टर्कीका राष्ट्रपति रेचेप तैयिम एर्दोआनले अजरबैजानको राजधानी बाकुमा एउटा कविता वाचन गर्दा इरान रिसाएको छ ।
आर्मेनियालाई अजरबैजानले युद्धमा हराएको उपलक्ष्यमा आयोजित सैन्य परेड हेर्न एर्दोआन बाकु पुगेका थिए ।
त्यस अवसरमा उनले अजारी–इरानी कविता पढे जसमा रुस र इरानबीच अजरबैजानको विभाजनको बारेमा उल्लेख गरिएको छ । यसले इरानमा अजारी अल्पसंख्यकहरूलाई पृथक्तावादका लागि भड्काउने चिन्ता इरानले लिएको छ ।
इरानको परराष्ट्र मन्त्रालयले शुक्रवार आफ्नो वेबसाइटमा लेखेको छ, ‘अर्काको भूमिमा दाबी गर्ने विस्तारवादी देशहरूको युग बितिसकेको छ । इरानले कसैलाई पनि आफ्नो अखण्डतामा दखल दिन अनुमति दिने छैन ।’
इरानका परराष्ट्रमन्त्री जवाद जरीफले पनि ट्वीट गरे, ‘बाकुमा गलत तरिकाले कविता पढेको कुरा राष्ट्रपति एर्दोआनलाई थाहा छैन होला । कवितामा इरानको मातृभूमिबाट भूमि छुट्ट्याउने अर्थ लगाइएको छ ।’
इरानको समाचार संस्था आईएसएनएका अनुसार, कवितामा अरास नदीको दुवैतर्फ बस्ने अजारी मानिसहरूबीच दूरीको गुनासो गरिएको छ ।
कवितामा यस्ता पंक्तिहरू छन्, ‘उनले अरास नदीलाई बाँडे र तिनमा पत्थर र डण्डा भरे । म तिमीसँग अलग हुन चाहदिनँ । उनीहरूले हामीलाई जबर्जस्ती अलग्याए ।’
इरानको परराष्ट्र मन्त्रालयले टर्कीका राजदूतलाई एर्दोआनको हस्तक्षेपकारी र अस्वीकार्य टिप्पणीका लागि तत्काल स्पष्टीकरण दिन भनेको छ ।
एर्दोआनले युद्धमा अजरबैजानले जितेको क्षेत्रमा पुनर्निर्माणका लागि टर्कीले सघाउने बताए । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले एक वर्षभित्र यसतर्फ कदम उठाउने उनको भनाइ छ ।
सेप्टेम्बरमा अजरबैजान र आर्मेनियाबीच नागोर्नो–काराबाख क्षेत्रका लागि भएको लडाइँ ४४ दिन चलेको थियो र दुवैतर्फ गरी लगभग ५६ सयजनाको मृत्यु भयो । आर्मेनियाले शान्तिवार्ताका लागि बाध्य हुनुपरेको थियो ।