अमेरिकाले भारतप्रति कठोर दृष्टिकोण अपनाउँदै चीन लगायतका दश देशसँगै भारतलाई पनि मुद्रा हेरफेर गर्ने मुलुकको निगरानी सूचीमा राखेको छ ।
आफ्ना व्यापारिक साझेदारहरूलाई अमेरिकाले यस सूचीमा राखेको हो ।
सूचीमा भारत, चीन, ताइवान, जापान, दक्षिण कोरिया, जर्मनी, इटली, सिंगापुर, थाइल्यान्ड र मलेसिया पनि छन् । अमेरिकाको अर्थ मन्त्रालयले बुधवार कांग्रेसमा पेश गरेको रिपोर्टमा यसको जानकारी दिएको हो ।
रिपोर्टमा उल्लेख गरिएअनुसार, अमेरिकाका चार प्रमुख व्यापारिक साझेदार मुलुक भारत, भियतनाम, स्विट्जरल्यान्ड र सिंगापुरले आफ्नो विदेशी मुद्रा विनिमय बजारमा हस्तक्षेप गर्ने गरेका छन् ।
यसले गर्दा अमेरिकी कामदार र कम्पनीहरूलाई नोक्सान पुगेको रिपोर्टमा उल्लेख गरिएको छ ।
अमेरिकाका अर्थमन्त्री स्टिभन टी म्नुचिनले भने, ‘अर्थ मन्त्रालयले अमेरिकी कामदार र कारोबारहरूको आर्थिक उन्नति तथा व्यापार वृद्धिका लागि बलियो कदम उठाएको छ ।’
दश देशमाथि विशेष निगरानी राख्नुपर्ने रिपोर्टमा उल्लेख गरिएको छ ।