
पोखराको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल तालबाराही मन्दिर बिहीवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
कोरोना भाइरस महामारीका कारण ९ महिनोदेखि लगातार बन्द रहेको मन्दिर सर्वसाधारणको पूजाआजाका लागि खुला गरिएको हो ।
कोभिड संक्रमण प्रभावपछि मन्दिरमा यसअघि पुजारीले मात्र पूजा नित्य पूजा गर्दै आएका थिए । बाराही मन्दिर व्यवस्थापन समिति अध्यक्ष हिक्मतबहादुर कुँवरले भने, ‘स्थानीय प्रशासनको स्वीकृतिमा मन्दिर खुला गरिएको छ । अब मन्दिरमा भक्तजनको आगमन हुने र पोखरामा धार्मिक पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्नेछ ।’
कोभिड–१९ सचेतनासँगै भौतिक दूरी कायम गरी मास्क तथा सेनिटाइजर प्रयोगमा मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको कुँवरले जानकारी दिए ।
मन्दिर बन्द हुँदा डुंगाचालकको पनि रोजीरोजीमा समस्या परेको थियो । तालमा डुंगा चलाएर गुजारा गर्ने करीब ४०० मजदुरले राहत महसूस गरेका छन् ।
मन्दिर बन्द हुँदा सञ्चालन खर्च धान्नै व्यवस्थापन पक्षलाई धौधौ परेको गुनासो गरेका थिए । मन्दिरको दानपेटिकामा नियमित रूपमा संकलित रकमका साथै कोजाग्रत पूर्णिमा तथा नयाँ वर्षका दिन राम्रै दान सहयोग प्राप्त हुने गरेको थियो ।
माछापुच्छ्रे हिमालको छायाँ देखिने तालको बीचमा रहेको सानो टापूमाथि प्यागोडा शैलीको कलात्मक मन्दिर अवस्थित छ । यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आएको छ ।
तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकिन छैन ।
विक्रम संवत् १६६७ सालदेखि यो मन्दिरको अस्तिस्व कायम रहिआएको हो । कतैकतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि अभिलेख पाइन्छ । कास्कीका राजा कुल मण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलोपटक मन्दिर स्थापना गरेका थिए ।
प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापू बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापू बनेको विश्वास छ ।
विक्रम संवत् २०१७ सालमा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो ।
मन्दिर खुलाउन यसअघि विश्व हिन्दू महासंघ नेपाल तथा पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए ।
नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा कोरोना प्रभावले सुस्ताएको पर्यटकीय गतिविधि बिस्तारै चलमलाउन थालेको छ ।
रेवानले पोखराले अंग्रेजी नयाँ वर्ष २०२१ को स्वागतमा पुस १५ गते पोखरा सडक महोत्सव आयोजना गर्ने घोषणा गरिसकेको छ ।