
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको शुरुवातीदेखि नै चीनप्रति कठोर बन्दै आएका थिए ।
कोरोना महामारी शुरु भएपछि चिनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पको निकै आलोचना भएको थियो । कार्यकालको अन्त्यमा पनि चीनप्रति उनले आफ्नो कठोरता देखाएका छन् ।
जाँदा जाँदै उनले चिनियाँ कम्पनीलाई अमेरिकी स्टक एक्सचेन्जबाट बाहिर निकाल्ने एउटा कानुनमा हस्ताक्षर गरेका छन्। ‘द होल्डिङ फोरेन कम्पनी एकाउन्टेबल एक्ट’ कानुनमा उनले हस्ताक्षर गरेका हुन्।
यस कानुनमा लगातार तीन वर्ष अमेरिकाको पब्लिक अकाउन्टिङ ओभरसाइट बोर्डको अडिट नियमलाई जुन कम्पनीले पालना गर्दैन, यसलाई अमेरिकाको एक्सचेन्ज सूचीबाट हटाइने छ। यद्यपि यो कानुन सबै देशको हकमा लागू हुनेछ।
तर, अहिले यो बुझन् गाह्रो छैन, यो कानुनलाई ट्रम्प प्रशासनले लालमोहर लगाउनुको उद्देश्य अमेरिकामा सूचीकृत भइसकेका चिनियाँ कम्पनी अलिबाबा, टेक फर्म पिन्दुदु इन्क र आयल कम्पनी पेट्रोचाइनालाई स्टक एक्सचेन्जबाट बाहिर निकाल्नु हो।
अमेरिकामा बढ्दो चिनियाँ व्यवसायलाई रोक्ने कानुन यसैवर्ष अमेरिकी कांग्रेसमा बहुमतबाट पास भएको थियो। विपक्ष डेमोक्र्याटले समेत चीनविरोधी यो कानुनमा ट्रम्पलाई समर्थन गरेका थिए।
ट्रम्प सुरुदेखि नै कोरोना भाइरसका लागि चीनलाई जिम्मेवार ठहर गर्दै आइरहेका छन्। यसपछि उनी चीनविरूद्ध झन् सशक्त बनेका थिए। अमेरिकामा लागु नयाँ कानुनअनुसार अब अमेरिकामा कारोबार गरिरहेका चिनियाँ कम्पनीले यसको मालिकको नाम उजागर गर्नुपर्ने छ।
यसअघि पनि ट्रम्पले चीनको दर्जनौं कम्पनीलाई कालोसूचीमा राखिसकेका छन्। जसमा चिपमेकर एसएमआइसी र चिनियाँ ड्रोन निर्माता एसजेड डीजेआई टेक्नोलोजी जस्ता विख्यात कम्पनी छन्।