२६ जेठ २०८३, मंगलबार

ओलीको निर्देशन : संसद पुनःस्थापना हुँदैन, चुनावको तयारीमा जुट्नुस्

ओलीको निर्देशन : संसद पुनःस्थापना हुँदैन, चुनावको तयारीमा जुट्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेको भन्दै चुनावको तयारीमा जुट्न निकटस्थ नेताहरूलाई निर्देशन दिएका छन् ।

उनले प्रतिनिधि सभाको विघटन आफ्नो रहर नभई बाध्यता भएको बताए । ओलीले पूर्व एमालेहरू फेरि एकजुट हुनुपर्ने अवस्था आएको पनि उल्लेख गरे । 

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षधर सांसदहरूको भेलालाई सम्बोधन गर्दै ओलीले चुनावको तयारीमा जुट्न आग्रह गरेका हुन् ।

‘प्रतिनिधिसभा विघटन रहरले गरिएको होइन, पार्टी भित्रकै साथीहरू प्रतिपक्ष जस्तो भएपछि यो बाध्यात्मक अवस्था सिर्जना भएको हो,’ ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक सांसदले लोकान्तरसँग भने, ‘प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना छैन, चुनावको तयारीमा लाग्नुस् ।’

प्रधानमन्त्री ओलीले जनतासँग माफी माग्दै फेरि भोट दिन आग्रह गर्नुपर्ने बताए । सम्बोधनका क्रममा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको बताए । 

‘हाम्रा साथीहरूलाई प्रचण्डले ललिपप देखाएर लगेका छन्, तारा झारिदिने आश्वासन दिएका छन्, तारा त त्यस्तै हो, भोलि बंगारा झारेर रोडमा पठाउँछन्, हेर्दै जानुहोला,’ ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक पूर्व सांसदले लोकान्तरसँग भने । 

भेलालाई पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पनि सम्बोधन गरेका थिए । सहमतिका लागि गरिएका प्रयास असफल भएपछि प्रतिनिधिसभा विघटनको बाध्यात्मक अवस्थामा जानु परेको उनले बताए । 

भेलामा पूर्व माओवादी पृष्ठभूमिका नेता लेखराज भट्ट पनि सहभागी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्