२५ जेठ २०८३, सोमबार

राष्ट्रपति बाइडेनले लगाए फाइजरको पहिलो डोज

पुस ७, २०७७
राष्ट्रपति बाइडेनले लगाए फाइजरको पहिलो डोज

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर कम्पनीद्वारा निर्मित कोरोनाभाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् ।

अमेरिकी जनतालाई यो सुरक्षित छ भनेर देखाउन आफूले पनि खोप लगाएको उनले बताएका छन् । अमेरिकामा बाइडेनसहित धेरै राजनीतिक नेतृत्वले खोप लगाइसकेका छन् जसमा उपराष्ट्रपति माइक पेन्स र सभामुख नान्सी पेलोसी रहेका छन् ।

आइतबारबाट अमेरिकामा मोडर्ना कम्पनीले निर्माण गरेको दोस्रो खोप पनि पठाउन सुरु गरिसकिएको छ । हालसम्म ५ लाखभन्दा बढी अमेरिकी नागरिकले खोप लगाइसकेको बताइएको छ ।

‘खोप उपलब्ध हुँदा मानिसहरु यसलाई लगाउन तयार हुनुपर्छ भनेर देखाउन म यो खोप लगाउँदैछु,’ टेलिभिजनको प्रत्यक्ष प्रशारणमा खोप लगाउँदै बाइडेनले भने, ‘यसमा चिन्ता लिनुपर्दैन ।’

उनले देशमा खोप कार्यक्रम सुरुवात गरेकोमा ट्रम्प प्रशासनलाई पनि श्रेय दिए । बाइडेनसँगै उनको पत्नी जिल बाइडेनले खोपको पहिलो डोज लिएकी छन् ।

बाइडेनको टीमले आफ्नो शुरुवाती १०० दिनमा १० करोड अमेरिकीलाई खोप दिने लक्ष्य लिएको छ । अमेरिकामा हालसम्म १।८ करोड संक्रमित फेला परिसकेका छन् भने ३ लाख १९ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्