१० असार २०८३, बुधबार

औंसा प्रकोपले ताप्लेजुङका सुन्तला सखाप

पुस ७, २०७७
औंसा प्रकोपले ताप्लेजुङका सुन्तला सखाप
प्रतिकात्मक तस्वीर

करीब ३० वर्षदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका ताप्लेजुङ फुङलिङ नगरपालिका–१ का तीलबहादुर कार्की यो वर्ष पनि औंसा प्रकोपले सुन्तला सखाप भएपछि चिन्तित छन् ।

दाना लाग्दैदेखि औंसाका कारण सुन्तला झरेर अहिले पाक्ने बेला हुँदासम्ममा १५ प्रतिशत पनि नरहँदा आम्दानीकै बाटो बन्द हुने भन्दै कार्की चिन्तामा परेका हुन् ।

‘करीब ३०० भन्दा बढी बोट सुन्तला लगाएको छु, भदौदेखि दाना झरेर अहिले पाक्ने बेला हुँदा बोटमा १५ प्रतिशत पनि दाना देखिँदैन, आम्दानीको बाटो नै बन्द भयो, नजीकको सरकारले पनि हेरेन,’ कार्कीले भने ।

उनका अनुसार विगत ५/६ वर्षदेखि सुन्तलामा औंसा पर्ने र नपाक्दै पहेँलो भएर झर्ने समस्या छ । रोग नियन्त्रणका लागि कतैबाट सहयोग नभएकाले आफैंले विषादी किनेर लगाउने गरेको तर समाधान हुन नसकेको उनले बताए ।

‘पहिले कृषि कार्यालय हुँदा सामान्यतया सहयोग हुन्थ्यो, अहिले नजीकको सरकार छ भन्छन्, तर अहिलेसम्म नजिकको सरकारबाट हामी किसानलाई कुनै सहयोग छैन, प्राविधिकहरुसँग भेटेर कुरा गर्दा हामी जान भ्याउँदैनौं भन्छन्,’ उनले भने । 

यता फुङलिङ नगरपालिका–२ टार गाउँका भक्तबहादुर तोलाङको पनि समस्या उस्तै छ । केही वर्षयता व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका भक्तबहादुरलाई सुन्तला खेती निल्नु न ओकल्नु भने जस्तै भएको छ ।

‘केही होला कि भनेर बारी मासेर सुन्तला रोपें, तर बर्सेनी पहेंलो हुँदै झरेर जान्छ, पोहोर सालभन्दा यो वर्ष धेरै झर्‍यो, उपाय नहुने भयो,’ उनले भने । यसरी सुन्तलामा आएको प्रकोप झन् बढ्दै जाँदा र यसको नियन्त्रणमा हालसम्म कतैबाट सहयोग नहुँदा सुन्तला खेती गर्ने किसान समस्यामा छन् ।

उनीहरूका अनुसार दाना लाग्दैदेखि पहेंलो हुँदै क्रमशः झर्ने गरेको छ । पाक्ने याम मंसिर, पुससम्ममा झरेको सुन्तलाले भुइँ ढाक्ने गरेको छ भने बोटमा १५/२० प्रतिशत पनि दाना नरहने उनीहरूको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्