०६ असार २०८३, शनिबार

लागूऔषध नियन्त्रणमा बागमती प्रदेश प्रहरी

पुस ८, २०७७
लागूऔषध नियन्त्रणमा बागमती प्रदेश प्रहरी

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशका सबै जिल्लामा लागूऔषध सम्बन्धी सबै प्रतिबन्धित कारोबारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ ।

प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागूऔषध गाँजाखेती नष्ट गर्ने र लागूऔषधको ओसारपसारलाई नियन्त्रण गर्ने गरी विविध क्रियाकालापमार्फत कार्य सञ्चालन गरेको हो ।

कार्यअन्तर्गत विभिन्न जिल्लामा लगाइएको प्रतिबन्धित गाँजाखेती नष्ट गर्नुका साथै लागूऔषधको ओसारपसार नियन्त्रणमा अन्य काम गरिएको बागमती प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए ।

बागमती प्रदेशभित्र पर्ने मकवानपुर, चितवन, सिन्धुली, धादिङलगायतका जिल्लामा अवैध लागूऔषध गाँजाखेती हुने र पूर्वपश्चिम राजमार्गको धादिङ, चितवन र मकवानपुर ओसारपसार गर्ने मार्ग रहेको हुँदा लागूऔषधको गैरकानूनी खेती र ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले कारवाही अभियान सञ्चालन गरिएको हो ।

कार्यालयका अनुसार विभिन्न मितिमा गरी पुस महिनाको हालसम्मको अवधिमा ३७१ बिघा ५६ कठ्ठा २७ धुर जग्गा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले जानकारी दिइन् । यस अभियानलाई प्रभावकारी बनाउन प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा गरी ४२८ प्रहरी कर्मचारी परिचालित गरिएको थियो ।

मकवानपुरमा मात्रै पुस महिनामा २३५ बिघा पाँच कठ्ठा पाँच धुरमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ भने चितवनमा ५० बिघा, सिन्धुलीमा ६३ बिघा २५ कठ्ठा १० धुर र धादिङमा २१ बिघा ८ कठ्ठा गरी मंसिरमा मात्रै ३७१ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकाअन्तर्गतका वडा नं ८ र ९ मा मंसिर २१ देखि २३ गतेसम्म सञ्चालन गरिएको गाँजा फडानीअन्तर्गत २२३ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको उनले बताइन् ।

मंसिर महिनालाई लागूऔषधविरुद्धको कारवाही अभियानको रूपमा सञ्चालन गर्ने क्रममा गाँजा ९६ केजी, लागूऔषध चरेस ५० केजी बरामद भएको छ । औषधिजन्य लागूऔषधअन्तर्गत डाइजेपाम ७५ एम्पुल, फेनार्गन ७२ एम्पुल, नुर्फिन ७५ एम्पुल, नाइट्रोभेट १ हजार २०० ट्याब्लेट, नाइट्रेजेपाम ४५ ट्याब्लेटलगायतका लागूऔषध बरामद गरिएको छ ।

कमेन्ट गर्नुहोस्