
नेकपामा प्रचण्ड–नेपाल र ओली समूह विभाजित भइसक्दा पनि कित्ता स्पष्ट गर्न नसकेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधवार बिहान १ घण्टा छलफल भएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कित्तामा आउन आग्रह गर्दै मन्त्रीनिवास पुल्चोकसम्मै धाएको अवस्थामा बादलले बालुवाटार गएर ओलीसँग छलफल गरेका हुन् ।
गृहमन्त्री बादल कुन कित्तामा उभिने भन्नेबारे अझै स्पष्ट भइसकेको छैन । उनी ओली पक्षको बैठक र भेलामा समेत सहभागी भएका छैनन् ।
संसद विघटन गर्ने निर्णयविरुद्ध रहेका मन्त्रीहरूले भने राजीनामा दिएर प्रचण्ड पक्षमा लागेका छन् । तर बादलले मन्त्रीबाट समेत राजीनामा दिएका छैनन् । बादल बालुवाटार नै गएर ओलीलाई भेट्नुलाई चासोका साथ हेरिएको छ ।
यसअघि मंगलवारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बुधवारको बैठकमा उपाध्यक्ष वामदेव गौतम र बादल सहभागी हुने बताएका थिए । तर बादल पक्षले यसबारे केही खुलाइसकेको छैन ।
प्रचण्डले हिजो मंगलवार भनेका थिए, ‘बादलसँग आज पनि गम्भीर कुरा भएको छ, भोलि यहाँ उपस्थित हुनुहुन्छ भन्ने विश्वास छ । केही विश्वास दिलाउनुभएको छ । आधिकारिक र वैध पार्टीमा सहभागी हुने विश्वास व्यक्त गर्न चाहन्छु । यो बैठकले सचिवालयका २ जना महत्त्वपूर्ण नेता वामदेव र बादललाई देख्न चाहेको छ ।’