अर्जेन्टिनाकी पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।
अघिल्लो साता बिहीवार उनी घर नजिकै हिँडिरहेको बेलामा एक बसले उनलाई पछाडिबाट टक्कर दिएर गम्भीर घाइते बनाएको थियो । टाउको फुटेपछि उनी कोमामा पुगेकी थिइन् ।
६ दिनसम्म संघर्ष गरेपछि उनको ज्यान गयो । उनी ८१ वर्षकी थिइन् ।
नोर्माले सन् १९६० मा लन्डनमा आयोजित मिस वर्ल्ड उपाधि जितेकी थिइन् । उपाधि जित्ने उनी पहिलो अर्जेन्टिनी थिइन् ।
उपाधि जितेपछि उनले ५०० पाउन्ड र एक विलासी कार पाएकी थिइन् । तर केही समयअघि दिएको अन्तर्वार्तामा उनले पैसा त पाएको तर कार नपाएको बताएकी थिइन् ।
मोडलिङमा सफल भएपछि नोर्माले गायनमा पनि प्रयास गरेकी थिइन् । सन् १९६२ मा उनले इटलीका भायोलिनवादक अर्मान्डोसँग मिलेर सेक्सी वर्ल्ड नामक गीत गाएकी थिइन् ।
दुर्घटना गराउने २८ वर्षीय बसचालकलाई पक्राउ गरिएको छ । बस पनि जफत गरिएको छ ।