
भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी अक्षम व्यक्ति भएको आरोप लगाएका छन् ।
बिहीवार राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ कोविन्दलाई किसान आन्दोलनका विषयमा स्मरणपत्र बुझाएपछि राहुलले भने, ‘मोदी आफ्ना पूँजीवादी साथीहरूका लागि व्यवस्था चलाउने अक्षम मानिस हुन् । तीन नयाँ कृषि कानून खारेज नगरिउन्जेलसम्म किसानहरू घर फर्किने छैनन् भनी म प्रधानमन्त्रीलाई स्पष्ट पार्न चाहन्छु ।’
कुनै पनि शक्तिले किसान र मजदूरलाई कमजोर बनाउन नसक्ने राहुलको भनाइ छ ।
‘आसेपासे पूँजीवादीहरूलाई थप नाफा कमाउन सहयोग गर्ने भाजपा र मोदीको एक मात्र लक्ष्य हो । भाजपा र प्रधानमन्त्रीको आलोचना गर्ने जोकोहीलाई आतंकवादी संज्ञा दिइन्छ,’ उनले भने ।
‘यी कानूनहरू किसानविरोधी छन् भनी हामीले राष्ट्रपतिलाई बतायौं । किसानहरू लुरुलुरु घर फर्किन्छन् भनी प्रधानमन्त्रीले सोच्न हुँदैन । कानून फिर्ता नलिएसम्म उनीहरू फिर्ता जाँदैनन्,’ राहुलले बताए ।