
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध १ दिने आन्दोलन गर्ने भएको छ ।
बिहीवार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते १६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा आन्दोलन गर्ने निर्णय भएको छ,’ उनले भने ।
संसद विघटनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बुधवारको बैठकले आन्दोलन गर्र्ने निर्णय गरेपनि बिहीवारको बैठकले आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो ।
संसद विघटनविरुद्ध अन्य दलले चरणवद्ध आन्दोलन गरिरहेपनि कांग्रेसले एक दिवसीय कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि कांग्रेस पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले सबै पार्टीका केन्द्रीय कार्यसमितिबाट आन्दोलनका कार्यक्रमबारे निर्णय गर्ने समझदारी गरेको थियो ।