
भारतमा दैनिक अपत्यारिला घटना भइरहन्छन् । भारत यति ठूलो छ कि दैनिक हुने लाखौं घटनाका बारेमा बाहिर खासै जानकारी हुँदैन ।
जति खबर आउँछन् ती पनि अपत्यारिला नै हुन्छन् । यहाँ एक अचम्मित पार्ने खालको घटना भएको छ । चिसो रोटी पस्किएपछि युवकले ढावा मालिकमाथि गोली प्रहार गरेका छन् ।
एटाको सडक किनारामा रहेको ढावा चलाउनेलाई चिसो रोटी दिएको भन्दै गोली प्रहार गरेका छन् । प्रहरीले गोली प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएको छ । यो घटना बिहीबार भएको हो ।
बिहीबार बसपार्क नजिकै रहेको एक भोजनालयमा युवक खाना खान पुगेका थिए । करिब राती साढे ११ बजेतिर पुगेका युवकले रोटीको माग गरे । ढावा बन्द हुनै लागेको थियो ।
ढावा मालिकले उनलाई खाना दिए । तर, युवकले रोटी चिसो दिएको भन्दै विवाद गरे । मालिक अवधेश यादवले युवकलाई मध्यरात भएकाले अर्को बनाउन सम्भव नभएको भन्दै सम्झाउन थाले ।
तर, त्यसैबेला युवकले यादवमाथि गोली प्रहार गरे । गोली दाइने खुट्टामा लागेको छ । ढावा मालिकलाई अस्पताल लगिएको र गोली निकालेपछि खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
एसपी सुनीलकुमारले भने, ‘दुवै आरोपी अमित चौहान र कसुसताव सिंहलाई नियन्त्रणमा लिइएको छ । उनीहरुको साथबाट दुई लाइसेन्सप्राप्त पेस्तोल भेटिएको छ ।’