
रुसमा अत्यन्तै चिसो मौसम र कठ्यांग्रिदो जाडोमा समेत चल्ने हतियार परीक्षणका लागि विशेष अनुसन्धान स्थल पुनः खोलिन लागेको छ ।
राजधानी मस्कोबाट बाहिरपट्टि प्रधान कार्यालय भएको सेन्ट्रल साइन्टिफिक रिसर्च इन्स्टिच्युट फर प्रिसिजन मशिन इन्जिनीयरिङले राज्यबाट प्रमाणीकरण पाइसकेको र परीक्षण शुरू गरिहाल्ने घोषणा बिहीवार गरेको छ ।
तत्कालीन सोभियत संघले स्थापना गरेको उक्त परीक्षण तथा अनुसन्धान स्थल बिग्रेर बसेको थियो । अहिले त्यसको मर्मत गरिएको छ ।
परीक्षणस्थलले राइफल, विशिष्ट ग्रिनेड लन्चर र सानो क्यालिबरका तोपहरू माइनस ६० डिग्री तापक्रममा समेत चलाउनका लागि परीक्षण गर्न लागेको छ ।
त्यहाँका परिस्थितिहरू आर्कटिकको वातावरण जस्ता हुनेछन् तर अन्य स्थानका युद्धभूमिलाई पनि त्यसले अनुकरण गर्नेछ । अत्यन्तै गर्मीमा तथा मरुभूमिको धुलाम्मे अवस्थामा समेत हतियारले काम गर्छ गर्दैन भनी परीक्षण गरिनेछ ।
आर्कटिक क्षेत्रमा रुस, अमेरिका, बेलायत, क्यानडा र चीन सबैले अभ्यास गरिरहेको र चिसो मौसममा युद्ध गर्ने क्षमता बढाइरहेको अवस्थामा सैन्य तनाव चर्किने सम्भावना बढेर गएको छ ।