
विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर शैलीमा अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
सोमवार जनसांस्कृतिक महासंघको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले ओलीले लोकतन्त्रको निर्मम हत्या गरेको आरोप लगाएका हुन् ।
‘केपी ओली जङ्गेको बाटोमा हिँडे, उनी पराजित भएका छन्,’ प्रचण्डले भने, ‘इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्यपूर्ण हो । इतिहासमा ओली पराजित भए, कलंकको टीका लगाए । हाम्रो विजयको अभियानको शुरूआत भयो । हामी संविधानको पक्षमा, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सडकमा आयौं भनेको जनतासँग गयौं भनेको हो ।’
उनले संसद जीवितै रहेको समेत दाबी गरे । ‘संविधानले दिँदै नदिएको अधिकार, हुँदै नभएको अधिकार प्रयोग गरिएको छ । मैले भन्ने गरेको छु, सदन जीवित छ । विघटन भएको केपी ओलीको सरकार हो । संविधानको मर्म विपरीत चलेपछि सरकार विघटित भएको हो,’ उनले भने ।
उनले सर्वोच्चले यति सामान्य कुरा बुझ्ने विश्वास व्यक्त गरे । ‘मलाई विश्वास छ, सम्मानित अदालतले यति सामान्य कुरा बुझ्दैन भन्ने हो भने हामी आफैं वास्तवमा अदालतको सम्मानप्रति अपमान हुन्छ भन्ने मलाई लाग्छ । छिट्टै सदन सुचारु गर्ने आदेश आउँछ भन्ने विश्वास गर्छु,’ प्रचण्डले भने ।