०४ असार २०८३, बिहीबार

पाथीभराको जंगल आगलागीले नष्ट, मन्दिर जोगाउन हेलिकप्टरबाट पानी खसालियो

पुस १४, २०७७
पाथीभराको जंगल आगलागीले नष्ट, मन्दिर जोगाउन हेलिकप्टरबाट पानी खसालियो

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा ५ दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ ।

बिहीवारदेखि लागेको डढेलो सोमवार बिहान मन्दिर परिसरमा नै पुगेको थियो ।

स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो ।

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो ।

हेलिकप्टरले ५ पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ । 

शनिवार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमवार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जंगलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । 

बिहीवारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जंगल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौं गोठसमेत जोखिममा परेका छन् । जंगलमा अझै आगो सल्किरहेकाले सिरिजंघा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डा समेत पाइने गरेको छ ।

आगलागीले फेदी बस्तीका वासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका वासिन्दालाई समस्या भएको छ ।  

यसैबीच सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रण गरिएको यो पहिलो पटक हो । ‘हामीसँग तालिमप्राप्त जनशक्ति थिए, विशेष प्रविधिको बकेट राखेर पानी निकाल्ने र खसाल्ने तालिम बर्सेनि भइरहेको हुन्छ, पहिलो पटक हामीले आगो निभाउन उक्त प्रविधि र जनशक्तिलाई प्रयोगमा ल्याएका हौं,’ उनले भने । 

यसरी आगो निभाउन प्रविधिसहित जनशक्ति सिम्रिक एयरसँग मात्रै रहेको पनि उनले बताए ।

फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीवारदेखि शुरू भएको आगो पाथीभरा क्षेत्रको जंगलमा फैलिएको थियो । आगो कसले लगायो भन्ने खुलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्