१५ असार २०८३, सोमबार

सिकाइमा वैकल्पिक विधि प्रभावकारी नबनेपछि स्कूलमै पढाइ

पुस १५, २०७७
सिकाइमा वैकल्पिक विधि प्रभावकारी नबनेपछि स्कूलमै पढाइ
फाइल फोटो

कोरोना महामारीका कारण बन्द भएका विद्यालय बिस्तारै सञ्चालन भएका छन् ।

गत वैशाखबाटै शैक्षिक सत्र शुरू भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए । सरकारले विद्यालय शिक्षा निर्देशिका जारी गरे पनि विद्यालय खुल्न सकेका थिएनन् । 

सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गर्दै पाठ्यक्रम समायोजन भएको छ । अध्यापन र अध्ययन सहज भएकाले नियमति समयमै पाठ्यक्रम सक्ने उद्देश्य राखेर विद्यालय शुरू भएका हुन् ।

जिल्लामा तिहारलगत्तै केही विद्यालय खुले तर कोरोना महामारीको प्रभाव विद्यालयस्तरमै सर्ने अनुमानपछि बन्द भए । पछिल्लो समय भने स्थानीय तहको निर्देशनानुसार विद्यालय खुलेका हुन् । 

पठनपाठनका लागि विद्यालय शिक्षण पद्धतिको विकल्पका बारेमा प्रयोग गरियो । विद्यार्थीको पहुँच नपुगेकाले त्यस्ता विधि प्रभावकारी बन्न सकेनन् । त्यसैले पनि विद्यालय शिक्षण पद्धतिमा फर्किनुपरेको जिल्ला शिक्षा तथा समन्वय एकाइ इलामका प्रमुख शम्भु थापा बताउँछन् ।

शिक्षणका लागि समन्वय एकाइ, स्थानीय तह र विद्यालयकै सहकार्यमा विभिन्न विधि प्रयोग गरियो तर कुनै विद्यालय शिक्षण पद्धतिको तुलनामा कम प्रभावकारी देखिए । विद्यालयहरूले टोल शिक्षण, एफएम/रेडियो शिक्षण, भर्चुअल(जुम) शिक्षण पनि प्रयोग गरे तर परिमाण सन्तोषजनक आएन ।

एकाइका प्रमुख थापाका अनुसार एफएम रेडियो शिक्षण पद्धतिमा विद्यार्थीको सहज पहुँच पुगे पनि विद्यार्थी शिक्षणको निगरानीमा नआउने भएकाले अध्यापन प्रभावकारी देखिएन । ‘विद्यार्थीलाई एफएमबाट पढ्न अनुरोध गरियो तर विद्यालयमा जस्तो शिक्षकको निगरानीमा नभएकाले खासै उपलब्धिमूलक देखिएन,’ थापाले भने ।

महामारीमा विद्यालय शिक्षण गर्न नसक्ने भन्दै २ स्थानीय तह (इलाम नगरपालिका र सूर्योदय नगरपालिका) ले रेडियो शिक्षण पद्धति अपनाए । स्थानीय ३ रेडियोमार्फत शिक्षण गराउँदासमेत उपलब्धि हासिल नहुँदा बीचैमा बन्द गरियो । रेडियो शिक्षण प्रभावकारी नबन्दा बजेटसमेत खर्च नभई फर्किएको छ ।

‘कार्यक्रम सञ्चालन गर्नुअघि विभिन्न वडामा माइकिङ समेत गरेका थियौं,’ सूर्योदय नगरपालिकाका शिक्षा अधिकृत योगनिधि भट्टराईले भने, ‘तर पनि प्रभावकारी नहुँदा बीचैमा रोक्नुपर्‍यो ।’

केही स्थानीय तहले घुम्ती शिक्षण पद्धतिसमेत चलाए । यो पद्धति पनि प्रभावकारी बनेन । त्यसपछि केही विद्यालयले जुम पद्धतिबाट अध्यापन गराउन थालेका छन् । विशेषगरी निजी विद्यालयहरूले यो पद्धति लागू गरे पनि प्रभावकारी नभएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामका अध्यक्ष विकास कर्मचार्य बताउँछन् । कर्मचार्यका अनुसार स्थानीय तहले सहजीकरण नगरिदिँदा प्रभावकारी नबनेको हो ।

‘विद्यार्थीलाई मात्र होइन अभिभावकलाई समेत जानकारी गराउनु पर्दो रहेछ । समन्वय अभाव भयो,’ कर्मचार्यले भने, ‘सबै क्षेत्रमा इन्टरनेटको उपभोग गर्न सकिएन । मुख्य कुरा चाहिँ स्थानीय तहले सहजीकरण गरिदिएनन् ।’
 

salt training

कमेन्ट गर्नुहोस्