
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माधवकुमार नेपाल खेमालाई सडकमा गएर कपडा बिगार्ने काम नगर्न सुझाव दिएका छन् ।
वैशाखमा हुने चुनावमा केही सिट ल्याउनुस् भन्ने शुभकामना समेत आफ्नो रहेको उनले बताए ।
‘चुनावमा केही सिट ल्याउनुस् भन्ने शुभकामना छ, चिसो सडकमा गएर कपडा नबिर्गानुस् । हिजो उहाँहरूले भनेको होइन, लोकतन्त्र आइसक्यो सडकमा गइराख्नुपर्दैन भनेर ?’ आलीले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले चुनाव हुने जिकिर गर्दै प्रश्न गरे–‘चुनाव गर्दा गणतन्त्र जान्छ ?’
साथै उनले चुनाव स्वच्छ र धाँधलीरहित हुने दाबी गरे ।
उनले भने– ‘आउनुस्, चुनाव स्वच्छ हुन्छ, धाँधलीरहित हुन्छ, बत्ती निभाइन्न, मतपत्र च्यातिन्न ।’
ओलीले आफूहरू छँदासम्म गणतन्त्र कसैले खोस्न नसक्ने बताए ।
‘पहिला कुखुरा खाने स्याल थियो, राजतन्त्र थियो । अहिले यहाँ कसैले लोकतन्त्र खोस्न सक्दैन । हामी हुँदाहुँदै गणतन्त्र खोस्ने ताकत कोही हुनसक्छ ?’ ओलीले प्रश्न गरे ।
सुदूरपश्चिम प्रदेशका आफूपक्षीय नेता-कार्यकर्तालाई बबरमहलको एक पार्टी प्यालेसमा बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पटक–पटक माधव नेपालप्रति कटाक्ष समेत गरे ।
'मलाई माऽऽऽऽन भएन । मलाई पदको लोभ छैन । मलाई उधारो हुँदैन,' नेता नेपालको लबजमा पटक–पटक बोलेका ओलीले भने– 'माधव नेपालको विषयमा त मैले कुनै टिप्पणी गर्नुपर्ने नै छैन, उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता बन्न जानुभएको छ ।'
उनले थपे, 'विचारा न सभापति हुन पाउने ! सभापति प्रचण्डले चलाउने हो । छेउमा बस्न त पाउनु भएकै थियो ।'
उनले आफ्नो मृत्युको कामना गरिएको भन्दै आक्रोश समेत पोखे ।
वैशाखबाट ओली पत्तासाफ हुन्छन् भन्ने टिप्पणीका सन्दर्भमा ओलीले भने, 'उहाँहरू भविष्यवाणी पनि कस्तो नमिल्ने गर्नुहुन्छ- म उपचारका लागि बैंकक गएँ, काठको बाकसमा फर्किन्छ भने, तर म त प्रधानमन्त्रीको कुर्चीमा छु । म पनि एक दिन मर्छु । मान्छे मरोस् भन्ने कल्पना गर्नु विरोधीलाई पनि हुँदैन ।'
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा प्रचण्डमाथि समेत विभिन्न टिप्पणी गरे ।
प्रचण्डले पूर्व माओवादी कार्यकर्तालाई अलपत्र पारेको आरोप उनको आरोप थियो ।
‘लोकेन्द्र विष्ट आज किन कम्युनिस्ट आन्दोलन छाडेर कालो मार्सी र ड्र्यागन फूडको खेती गर्नुभएको छ । हिजो कालीबहादुर खाम चाहिन्छ, आज किन चाहिँदैन ? हिजो बचाउन ज्यान दिनेको के अवस्था के छ ? बेसहाराको उहाँलाई चिन्ता छ ?’ बुधवार सुदूरपश्चिमका कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने ।
ओलीले प्रचण्डसँगको सम्झौताले आफ्नो ब्रिफकेस भरिएको भन्दै अरू कति सम्झौता गर्ने भनेर प्रश्न गरे ।