
नेपाल टेलिकमले पुस १७ गतेदेखि एनटीटीभी ब्राण्डमा फाइबर टू दि होम (एफटीटीएच) मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याउने भएको छ ।
हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा अब आईपी टीभी सेवा पनि थप गर्न लागेको हो ।
कम्पनीको एनटीटीभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाडौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिगौडा, जोरपाटी, कीर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रूपमा एफटीटीएच वितरण गर्न सकिने स्थानमा उपलब्ध हुने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।
हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटीटीभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
एनटीटीभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट एसटीबी (सेट टप बक्स) खरिद गर्नुपर्नेछ भने ग्राहकले प्रयोग गरिरहेको परम्परागत टीभी सेट र आधुनिक डिजिटल टीभी सेटमा एनटीटीभी हेर्न सकिने छ ।
विभिन्न राष्ट्रिय टीभी च्यानल तथा विदेशी च्यानलहरू उपलब्ध हुने एनटीटीभी सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुँदा ग्राहकले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौट गरी सेवा लिन सक्नेछन् ।
प्याकेज तथा दररेट सम्बन्धी जानकारी कम्पनीको वेबसाइट तथा अन्य माध्यमबाट सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
कम्पनीका भ्वाइस सेवा, डाटा सेवा र टीभी सेवा एउटै फाइबरको माध्यमबाट उपलब्ध हुने भएकाले कम्पनीका सेवाहरू ग्राहकलाई थप आकर्षक हुने अपेक्षा गरिएको प्रवक्ता जोशीले बताए ।