
प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । कुनै बेला हामी छुट्दैनौं, फुटाउन बाहिरी शक्ति लागिरहेका छन् भन्ने केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आरोपप्रत्यारोपमा व्यस्त छन् ।
कोरोना महामारीले आर्थिक रूपमा देश चौपट भइरहेको अवस्था छ । युवा पलायन झन् बढ्दो छ ।
उद्योग, कलकारखाना, व्यापार तथा व्यवसाय चौपट भइरहेको छ । आम नागरिकको जीवनस्तर अझै लयमा फर्किन सकेको छैन ।
‘सरकारको नेतृत्वमा पुगेकाहरू व्यक्तिगत स्वार्थका लागि बौलाइरहेका छन्,’ गायक प्रमोद खरेल भन्छन्, ‘एउटा कुर्चीका लागि यतिसम्म गर्न मिल्छ ? उनीहरू छुटोस्–फुटोस् । तर, किन आम नागरिकको पीडाबारे बेखबर भएको ?’
देशमा भ्रष्टाचार, हत्या हिंसा, बलात्कार, चोरीडकैती बढिरहेकोमा चिन्ता व्यक्त गर्दै गायक खरेलले राजनीतिक दलका नेतृत्वको व्यक्तिगत स्वार्थका कारण देश अगाडि बढ्न नसकेको प्रतिक्रिया दिए ।
‘अहिले फेरि सडकमा जुन चर्तिकला देखिएको छ त्यो जनताका कारण हो ? होइन, नेताहरूकै कारण हो,’ उनी थप्छन्, ‘कुर्चीका लागि त हो । आम नागरिकले बुझेका छन् । यदि चुनाव भयो भने अब नागरिकले अलिकति सोचेरै भोट दिनुपर्छ ।’
देशमा स्थायित्व होस्, केही वर्ष चुप लागेर काम गरोस् भनेर जनताले नेकपालाई स्पष्ट बहुमत दिएको भन्दै खरेलले नेपालका राजनीतिक दलहरू जनताको पक्षमा नभएर आफ्नो स्वार्थका लागि देशलाई बर्बादीतर्फ लैजान उद्धत रहेको बताए ।
उनले थपे, ‘हैट, नेपालका नेताहरूले देश बर्बाद बनाएर यार !’ नेपाली विदेशी शक्तिले निरन्तर हस्तक्षेप गरिरहेको उनले बताए ।
‘नेपालमा विदेशी शक्तिले निरन्तर हस्तक्षेप गरिरहेको छ,’ उनी थप्छन्, ‘तर, नेपालका सत्ता र प्रतिपक्ष दुवै उस्तै । खान पाए भयो ? हो, त्यसैले नेपालीहरू बिरक्तिएर हिँडेका हुन् ।’
कहिले दबाब, कहिले लोभलालचमा नेपालका नेताहरूलाई विदेशी शक्तिहरूले घुमाइरहेको गायक खरेलको तर्क छ ।
तपाईं एकपटक बाटोमा गएर कसैलाई सोध्नुस् त– ‘कस्तो राजनीति गरेको ?’ भनेर कसैलाई भन्नुस् त उसले के भन्छ, उनी नेपालको राजनीतिलाई व्यङ्ग्य गर्दै थप्छन्, ‘खासमा राजनीति धेरै राम्रो कुरा हो । देश, समाज र राष्ट्रलाई विकसित मुलुक बनाउनका लागि पनि राजनीति गर्नुपर्छ । तर, नेपालका नेताहरूका कारण राजनीतिको परिभाषा समेत बदलिएर फोहोरी शब्द घुसेको छ ।’
नेपालका कुनैपनि नेताहरूले देश/जनता र पुर्खाको शिर उच्च राख्ने काम नगरेको भन्दै गायक खरेलले विदेशका विभिन्न मुलुकमा पुगेका युवा पलायन हुनुका कारण पनि नेपालका नेताहरू नै दोषी छन्,’ उनी थप्छन्, ‘सधैँ राजनीतिबाहेक नेपालमा केही सुन्न पाइन्न, विकसित मुलुकमा यो चुनावका बेला मात्रै सुनिन्छ । न देशको विकास गरेको छ, न खुरुखुरु काम गरेको छ । कहिले जिन्दावाद, कहिले मुर्दावाद भनेर कहिलेसम्म युवाले मन बुझाउँछन् ?’
राजनीति, समाज, देश विदेशका युवाहरूको विषयमा नजिकबाट ख्याल राख्ने गायक खरेलले राजनीति नसुध्रिएसम्म देशको स्थिति सधैँ उस्तै रहने भन्दै खरेलले थपे, ‘राजनीति गर्ने नेताहरू बिन्ती छ, अब त व्यक्तिगत स्वार्थभन्दा माथि उठेर केही गर्नुस्, प्लिज ।’